समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, भाद्र १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजलाई आमुल परिवर्तन गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको विचार गोष्ठीमा नेता बिजुक्छेंले हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके शिक्षाको समेत विकास हुने बताउनुभयो ।
उहाँले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्ने बताउनुभयो । “पुस्तकालय भनेको ज्ञानको भण्डार हो,” उहाँले भन्नुभयो, “तर ज्ञानको भण्डार नेपालका पुस्तकालयहरु अझै व्यवस्थापन हुन बाँकी रहेको छ ।”


भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयहरुको व्यापक सदुपयोग गर्नुपर्ने औंल्याउनुहुँदै उहाँले पुस्तकालय व्यवस्थापकहरुको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्छ भन्नुभयो ।
सार्वजनिक पुस्तकालयहरुमा दक्ष जनशक्तिको अभाव देखिएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले पुस्तकालयमा आउने पाठकलाई राम्रोसँग व्यवहार गर्ने र पुस्तक दिने जनशक्ति व्यवस्थापनमा पुस्तकालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
“पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिम दिनुपर्छ,” उहाँले भन्नुभयो, “प्राचीन महत्व बोकेका पुस्तकहरुको संग्रह पुस्तकालयले सुरक्षित ढंगले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकासमा जोड दिनुपर्छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको बताउँदैं भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
“जनज्योति पुस्तकालयमा इ. लाइब्रेरीको विकास, उच्च शिक्षाको लागि अध्ययन गर्न छुट्टै व्यवस्थित अध्ययन कक्षको व्यवस्था र उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र बुद्धिजिबीहरुको सुझावअनुसार थप पुस्तकहरु राख्ने हामीले तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो ।


पुस्तकालय भनेको नयाँ बिषय अध्ययन अनुसन्धान गर्नेहरुको लागि अत्यन्त उपयोगी ठाउँ भएको बताउँदै उहाँले प्राचीन पुस्तक र पत्रपत्रिकाहरु पनि पुस्तकालयहरुमा सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसुचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले समाजका हरेक क्षेत्रमा राष्ट्रिय, नगरस्तरीय, विश्वविद्यालय, कलेज÷विद्यालयस्तरीय मात्र नभई वडा÷ टोलहरुमा समेत पुस्तकालयहरु अपरिहार्य भएको बताउनुभयो ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागत रुपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउँदैं भक्तपुरको साकोथामा अवस्थित साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
विचार गोष्ठीमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य छोरीमैया सुजखु (प्रजापति), जनज्योति पुस्तकालयका अधिकृत भूपाल मूल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, वडा नं. ९ का वडाअध्यक्ष रबिन्द्र ज्याख्व, भक्तपुर पुस्तकालय संघका अध्यक्ष सुरेन्द्र दुवाल, प्रगति पुस्तकालयका अध्यक्ष रबिन्द्रप्रसाद कुसी, सहिद राजकुमार स्मृति पुस्तकालयका अध्यक्ष कृष्णप्रसाद सुवाल र सहिद स्मृति पुस्तकालयका अध्यक्ष नारायणप्रसाद मचामसीले पुस्तकालयहरुको इतिहास, वर्तमान अवस्था र चुनौतीहरुबारे आआफ्नो धारणा राख्नुभएको थियो ।