भक्तपुरका प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले रोजे नेकपा (एकिकृत समाजवादी)

भक्तपुर, भाद्र १५
भक्तपुरका बागमति प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) रोज्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ मध्यपुर थिमि नगरपालिका क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य डा. श्रेष्ठले आज बागमति प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा (एकिकृत समाजवादी)को पक्षमा सनाखत गर्नुभएको हो ।
उहाँले आफुसहित १२ जना प्रदेशसभा सदस्यले नेकपा (एकिकृत समाजवादी)को पक्षमा सनाखत गरेको जानकारी दिनुभयो । “हामी अहिले निर्वाचन कार्यालय हेटौंडामा छौं । मसहित १२ जनाले नेकपा (एकिकृत समाजवादी) रोजेका छौं,” उहाँले इन्यूज अफसँग भन्नुभयो ।
डा. श्रेष्ठ नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) रोज्ने नेकपा एमालेबाट निर्वाचित भक्तपुरका पहिलो र उच्च तहका जनप्रतिनिधि हुन । उहाँको नेकपा (एकिकृत समाजवादी) रोजाईसँगै मध्यपुर थिमिमा नेकपा एमालेलाई ठूलो क्षति हुने आंकलन गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयले जनाएअनुसार हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र डा. राजेन्द्रमान श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) पक्षमा सनाखत गरेका छन् । प्रदेश सरकारमा समाजिक विकासमन्त्री रहेका कृष्ण खनालले पनि नेकपा (एकीकृत समाजवादी) चयन गरेको बताईएपनि उहाँ सनाखतका लागि निर्वाचन कार्यालय आई नपुगेको जनाएको छ ।