प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता खोजौं – सञ्चारसचिव अर्याल

काठमाण्डौं, भाद्र १५
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता कायम गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । सचिव अर्यालले आज (मंगलवार) प्रेस काउन्सिल नेपालको भ्रमण गर्दै काउन्सिलले सञ्चारमाध्यमको अनुगमन तथा नियमनसँगै प्रेस स्वतन्त्रताको रक्षाका साथै जवाफदेहिता कायम गर्नुपर्ने जोड दिनुभयो ।
सचिव अर्यालले काउन्सिलको उद्देश्य अनुसार दायरा फराकिलो रहेको भन्दै पहिले के काम गर्ने हो त्यो निश्चित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले सञ्चारसम्बन्धी कानुनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्दै स्वतन्त्रताभित्र जवाफदेहीता हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिल र मन्त्रालयबीच उचित समन्वय हुनुपर्ने भन्दै उहाँले काउन्सिलले के कस्तो आधारमा कसरी अनुगमन गरेको छ ? सरोकारवालासँग छलफल हुनुपर्ने बताउनुभयो । उहाँले आवश्यक सहयोग, समन्वय र सहकार्यको लागि मन्त्रालय सधैँ तयार रहेको उल्लेख गर्दै अनलाइन वर्गिकरण, प्रेस सङ्ग्राहलय निमार्र्ण तथा कर्मचारी विनियमावलीको विषयमा थप छलफल गर्नुपर्ने बताउनुभयो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भए गरिएका काम–कारबाहीबारे संक्षिप्तमा धारणा राख्नुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण, आचारसंहिताको निमार्ण र कार्यान्वयन, पत्रकार तथा कर्मचारीको दक्षता अभिवृद्धि लगायतको काम काउन्सिलले गर्दै आएको बताउनुभयो । उहाँले प्रेस सङ्ग्राहलय निमार्णको काम अगाडि बढेकाले यसलाई प्रभावकारी बनाउन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।


काउन्सिलका सदस्य दीपक पाण्डेले काउन्सिल कस्तो बनाउने भन्नेमा विस्तृत छलफल हुनुपर्ने धारणा राख्नुभयो । काउन्सिलका सदस्य–सचिव गोगनबहादुर हमालले काउन्सिल र सूचना तथा प्रसारण विभागबाट प्रदान हुने सेवाबारे जानकारी दिदैं मिडियाको व्यवसायिकता र विश्वसनियता बढाउनुपर्ने, श्रमजीवी पत्रकारको हितमा थप काम गर्नुपर्ने बताउनुभयो ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले हालसम्म सूचीकरण भएका अनलाइन, काउन्सिलको काम, कर्तव्य र उद्देश्य लगायत काउन्सिलको समग्र पक्षबारे जानकारी दिनुभयो । उहाँले पत्रपत्रिकारको वर्गीकरण, अनलाइनबाट उजुरी, मिडिया विकास कोषबाट सञ्चारमाध्यम एवं पत्रकारलाई दिइँदै आएको अनुदान, काउन्सिलको गठन, ऐन, नियम तथा मापदण्ड, काउन्सिलको पदाधिकारी नियुक्तिको प्रकृयाबारे पनि जानकारी गराउनुभयो ।
सो अवसरमा सचिव अर्याल र मन्त्रालयका सहसचिव अनिलकुमार दत्त सहितले मिडिया अनुगमनमा प्रयोग भएका मिडिया अभिलेखीकरण प्रविधिको अवलोकन गरी के÷कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । उहाँको जिज्ञासाबारे उप–प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिलसँग सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको अर्काइभ सिस्टम भएको भन्दै कोही कसैले गलत समाचार सम्प्रेषण गरेर डिलिट गरेपनि काउन्सिलसँग सुरक्षित रहने बताउनुभयो ।