साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका बस मनोहरा करिडोरबाट सञ्चालन गर्ने कामनपाको प्रस्ताव

भक्तपुर, साउन ३०
काठमाण्डौं महानगरपालिकाले उपत्यकाको पुर्वीनाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक यातायातलाई मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित मनोहरा करिडोर तथा आसपासका क्षेत्र र भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गाबाट सञ्चालनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ ।
महानगरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीको संयोकत्वमा गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले सो प्रस्ताव गरेको हो । कार्यदलमा वडा–२६ का अध्यक्ष ख्याम तिवारी, वडा–३२ का अध्यक्ष नवराज पराजुली, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्य, वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जन सदस्य थिए ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाह र ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालले समन्वय तथा सहजीकरण गरेका थिए ।
कार्यदलले शुक्रवार महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट उपत्यका पुर्वतर्फका लामो दुरीका ठूला सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।
यसैगरी संघिय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्यप्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ ।
काठमाण्डौं महानगरपालिकाले खुल्लामञ्चबाट सञ्चालित बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
उपत्यकामा बढ्दो सवारी चापलाई न्यूनिकरण गर्न र कोटेश्वरको सवारी जामलाई कम गर्न हाललाई सो व्यवस्था गर्न लागिएको महानगरप्रमुख शाक्यले बताउनुभयो । उहाँले पुरानो बसपार्क निर्माण हुँदै गरेकोले पनि हाललाई अस्थायीरुपमा मनोहरा करिडोर क्षेत्रबाट लामो दुरीका बस सञ्चालन गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । “सवारीधनी र सम्बन्धीत यातायात समितिको माग पनि मनोहरा करिडोरबाट सञ्चालन गर्ने रहेको छ । बढी जसो सवारीधनी र चालक पनि त्यतै बस्ने भएकाले उनीहरुको माग अनुसार नै त्यस्तो व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
कार्यदलले प्रतिवेदन तयार गर्नुअघि भक्तपुरको सल्लाघारीसम्म स्थलगत अवलोकन गरेको थियो । साथै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग समेत छलफल गरेको थियो ।
छलफलका क्रममा भक्तपुर नगरप्रमुख प्रजापतिले सल्लाघारीको तिनकुने क्षेत्र र नेपाल ट्रष्टको जग्गा बसपार्कको लागि उपलब्ध गराउन नसकिने जनाएको स्रोतले जानकारी दिए । करिव १०९ रोपनी क्षेत्रफलको सो जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाई भोगचलन गरिरहेको छ । भक्तपुर नगरपालिकाले उक्त क्षेत्रमा ख्वपः विश्वविद्यालय बनाउने योजना अघि सार्दै आएको छ ।
काठमाण्डौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्तरुपमा जडिबुटी लोहकिल्थली क्षेत्रको मनोहरा नदिको दायाँवायाँ मनोहरा जग्गा एकिकरण आयोजना सञ्चालन गर्दै आएको छ । कार्यदलले सोही आधारमा हाललाई आयोजना क्षेत्रको खाली जग्गा र सडकमा बस पार्किङको व्यवस्था गरी सञ्चालन गर्न सकिने आधार प्रस्तुत गरेको हो ।
प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ । खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो । खुल्ला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन् । व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५औँ कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।