कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखी १३ गतेसम्म गर्ने निर्णय

भक्तपुर, साउन ३०
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखी १३ गतेसम्म काठमाण्डौंमा हुने भएको छ । कांग्रेसको प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शनिवार बसेको केन्द्रीय समिति बैठकले यसअघि निर्धारित भदौ १६ देखी १९ गतेको मितिलाई संशोधन गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
परिमार्जित नयाँ तालिका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
कांग्रेसले पालिकाको वडा अधिवेशन भदौ १८, गाउँ तथा नगरपालिकाको अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने निर्णय गरेको छ ।