शारदा माविमा सिपमूलक व्यवहारिक शिक्षाको शुरुवात

भक्तपुर, साउन २४
भक्तपुरको शारदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखी विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सिपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न शारदाले सो शिक्षाको शुरुवात गरेको हो ।
भक्तपुर नगरपालिका–२ यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगसँगै जोडिएको शिक्षाको शुरुवात गरेको जनाएको छ ।
विद्यालयले चालु शैक्षिक सत्रदेखी वाद्यवादन, फूलबारी निर्माण, चित्रकला, जडिबुटी खेती, जैविक खेती, सुकुल बुन्ने कला, विभिन्न हस्तकला, विभिन्न खेल प्रशिक्षण, भाषा प्रशिक्षण, च्याउ खेती, करेसाबारीको कामलाई जीवन उपयोगी शिक्षासँग जोड्नका लागि विषय क्षेत्र बनाएको छ । त्यसैगरी दैनिक घरायसी काम र ससाना समस्या आफैंले समाधान गर्न सकिने सीप पनि दिने योजना बनाएको विद्यालयका प्राचार्य रोशनराज तुइँतुइँले बताउनुभयो ।


‘हामीले धेरै पहिलादेखि शिक्षालाई उत्पादन श्रमसँग जोड्नुपर्ने कुरा बताउँदै आइरहेका छौं, तर सकिरहेका थिएनौं, तर यो शैक्षिक सत्रबाट भने हामीले त्यसलाई मूर्त रुप दिनका लागि प्रयास गरेका छौं,’ प्राचार्य तुइँतुइँले भन्नुभयो ।
उहाँले जीवनोपयोगी शिक्षा र व्यवहारिक ज्ञानलाई उत्पादन श्रम र सीपसँग जोडी विद्यार्थीलाई थप व्यवहारिक बनाउने अवधारणाले व्यवहारिक शिक्षाको कक्षा शुरु गरेको बताउनुभयो । ‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ ।’
उहाँले आगामी दिनमा घरायशी समस्याको समाधानका बारेमा पनि व्यवहारिक शिक्षा दिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पढेका विद्यार्थीलाई घरमा बत्ती बिग्रियो भने एउटा चिम फेर्न, स्वीच फेर्न समेत आउँदैन, धाराको पाइप फुट्दा जोड्न आउँदैन, ती घरायसी काम गर्ने सीप पनि हामी यसमा समावेश गर्छौं ।’ त्यसका लागि विद्यालयले छु्टटै ल्याब र खेती गर्नका लागि खेत समेत भाडामा लिएको उहाँले जानकारी दिनुभयो ।


विद्यालयले केही समयअघि नै सो योजना बनाए पनि बजेट अभाव हुँदा त्यसलाई कार्यान्वयन गर्न नसकिएको प्राचार्य तुईतुईले बताउनुभयो । ‘यही शैक्षिक सत्रका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय समावेश भएपछि सो योजनालाई अघि बढाउन सहयोग पुगेको हो,’ उहाँले भन्नुभयो, ‘सो कार्यक्रमअन्तर्गत नव प्रवर्तनात्मक प्रविधि र विद्यार्थी शैक्षिक सुधार तथा शिक्षण सामग्री व्यवस्थापनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालयलाई समावेश गरेको छ ।’
सो विद्यालयमा हाल ३५० विद्यार्थी अध्ययनरत छन । विद्यार्थीहरुलाई सिप सिकाउन शिक्षकसँग भएका सीपलाई उपयोग गर्नुका साथै स्थानीय व्यक्तिहरुलाई समेत प्रशिक्षकका रुपमा सहयोग मागिने प्राचार्य तुईतुईले बताउनुभयो ।
‘स्थानीयस्तरमै पनि वर्षौंदेखि विभिन्न पेशा, व्यवसाय गरिरहेका, दाफा, भजनमा संलग्न व्यक्तिहरु छन्, तिनीहरुको सीपलाई नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि हामीले यो प्रयास गरेका हौं’, उहाँले भन्नुभयो ।
विद्यालयको नयाँ अवधारणामा विद्यार्थीको पनि अभिरुचि रहेको पाईएको छ । हाल विद्यार्थीहरु वाद्यवाधन बजाउने, सुकुल बुन्नेलगायतका सिपको व्यवहारिक ज्ञान लिन थालेका छन ।
विद्यालय तहबाटै शिक्षालाई व्यवहारिक बनाउनुपर्ने जरुरी रहेको शिक्षाप्रेमी हिमालयश्वरलाल मुलले बताउनुभयो । उहाँले पाठ्यक्रममा आधारित रहेर विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन सके त्यसले शिक्षालाई थप गुणस्तरीय बनाउन सघाउने बताउनुभयो ।
‘हाम्रो पाठ्यक्रम उत्कृष्ट छ, पाठ्यक्रममा हरेक विषयको क्रियाकलाप गराउन भनेको छ, तर सीमित स्रोत, साधनको कमी, बजेटजस्ता कारण त्यसलाई नगर्दा समस्या भएको छ, माटोसँगै हुर्कनुपर्ने विद्यार्थी माटोलाई हेला गर्ने बनेका छन्, यसैले अब माटोलाई माया गर्ने जनशक्ति उत्पादनका लागि पनि यस्तो अवधारणाको शिक्षा दिनुपर्छ’ उहाँले भन्नुभयो ।