स्व. कार्कीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

भक्तपुर, साउन २४
श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज (आईतवार) खाद्यान्न सहयोग गरेको छ । स्व. श्यामबहादुर कार्कीको १४ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
स्व. कार्की तत्कालिन बालकोट गाउँ विकास समितिका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा सहभागी भएर प्रजातन्त्र प्राप्तिको लागि अग्रमोर्चामा रहेर योगदान गर्ने प्रजातन्त्र सेनानी हुनुहुन्थ्यो । उहाँ स्थानीय निकाय सञ्चालन सम्बन्धी बौद्धिक नेता समेत हुनुहुन्थ्यो ।
प्रतिष्ठानले प्रत्येक वर्ष रक्तदान आयोजना गरी बालकोट क्षेत्रका सामुदायिक विद्यालयहरुलाई पोशाक र पुस्तकलगायतका शैक्षिक सामग्री वितरण गर्दै आएकोमा यसवर्ष कोभिड संक्रमणको जोखिमका कारण आश्रमलाई खाद्यान्न सहयोग गरेर स्मृति दिवस मनाएको प्रतिष्ठानका अध्यक्ष एवम् स्व. कार्कीका छोरा बिष्णुराज कार्कीले बताउनुभयो ।


खाद्यान्न हस्तान्तरण गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्व. कार्की विकासप्रेमी र समाज परिवर्तनका अगुवा नेता भएको स्मरण गर्नुभयो । उहाँले प्रतिष्ठानले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै स्व. कार्कीको स्मृतिमा मानव कल्याणको कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
आश्रममा ४० जना आश्रित रहेको जानकारी दिँदैं आश्रमका संयोजक जानुका पौडेलले सहयोगी हातहरुको सहयोगले नै आश्रमले सहाराविहिन नागरिकलाई आश्रय दिँदैं आएको बताउनुभयो ।
सो अवसरमा बागमति प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदिय दलका उपनेता कृष्णलाल भँडेल, नेपाली कांग्रेस जिल्ला सचिवद्धय निशान ढुंगेल र उद्धव सिलवाल, सहसचिव किरण न्यौपाने, नेपाल महिला संघ भक्तपुर सभापति सरु बाँनिया, प्रतिष्ठानका सचिव प्रदिक कार्कीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।