टोकियो ओलम्पिक–महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण

भक्तपुर, साउन २३
जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ । जापान नेशनल स्टेडियममा शुक्रबार सम्पन्न फाइनलमा क्यानडाले उपाधि दावेदार स्वीडेनको चुनौतीलाई पेनाल्टी सुटआउटको सडनडेथमा ३–२ ले पन्छाउँदै स्वर्ण हात पारेको हो ।
क्यानडाले ओलम्पिक फुटबलमा जितेको यो पहिलो स्वर्ण हो । क्यानडाले यसअघि रियो र लण्डन ओलम्पिकमा क्यानडाले कास्य पदक जितेको थियो ।
स्वर्णका लागि भएको भिडन्तमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका थिए । खेलमा स्विडेनले अग्रता लिएको थियो । खेलको ३४औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । ६७औं मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि थप गरिएको ३० मिनेटको समयमा कुनै गोल निस्कन सकेन र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।


पेनाल्टी सुटआउटमा दुवै टोलीले कमजोर प्रदर्शन गर्दा खेल रोमाञ्चक बनेको थियो । पेनाल्टीमा स्वीडेनकी कोसोभारे एस्लाएनीको पहिलो पेनाल्टी नै क्रसबारमा लाग्दै बाहिरिएको थियो । क्यानडाकी जेस्सी फ्लेमिङले गोल गरिन् । स्वीडेनकी नाथालि बिजोर्नले गोल गर्दा क्यानडाकी लरेन्सको प्रहारलाई स्वीडेनकी गोलरक्षक लिन्डालले बचाइन् र खेल १–१ को बराबरीमा पुग्यो ।
त्यसपछि स्काउजले गोल गर्दै स्वीडेनलाई २–१ ले अघि बढाइन् । भेनेसा गिलेसको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा स्वीडेन अघि बढेको थियो । त्यसपछि एन्भेगार्डको प्रहारलाई लावीले बचाउँदै क्यानडाको सम्भावना जीवितै राखिन् । त्यसपछि एड्रिएना लिओनको प्रहार पनि गोल हुन नसकेपछि खेल रोमाञ्चक बनेको थियो । सेगरको प्रहार बाहिरिदा स्वीडेन जितबाट वञ्चित बन्यो । क्यानडाकी डिएनी रोसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् ।
एन्डरसनको प्रहारलाई लावीले बचाउँदा क्यानडाको लागि छैटौ प्रहारमा आएकी जुलिया ग्रोस्सोले गोल गर्दै टोलीलाई ३–२ को रोमाञ्चक जितसहित ऐतिहासिक स्वर्ण दिलाइन् ।