बौद्ध धर्मग्रन्थ देखाएर ठगी गर्ने दुई जना पक्राउ

भक्तपुर, साउन २२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बौद्ध धर्मको प्राचीन पुरातात्विक महत्वको धर्मग्रन्थ देखाएर ठगी गरेको अभियोगमा बिहिवार काठमाण्डौंको गोकर्णेश्वर–८ आरुवारीबाट दुई जनालाई पक्राउ गरेको छ ।
धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा प्राचीन पुरातात्विक बौद्ध धर्मग्रन्थ तीन करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा महाशाखाको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राईलाई पक्राउ गरेको हो ।


उनीहरूले साउन १४ गते उदयपुर चौदण्डीगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।