श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न काउन्सिलको आग्रह

काठमाण्डौं, साउन १८

प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्कासन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको छ । काउन्सिलले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको समस्यालाई देखाएर पत्रकारको सेवा सुविधा रोक्ने र सेवाबाट निष्कासन गर्ने कार्य नियम, कानुन विपरीत भएकाले यस्तो कार्य नगर्न÷नगराउनसम्बन्धित मिडियाहरूलाई आग्रह गरेको हो ।

काउन्सिल अन्र्तगतको श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको हालै बसेको बैठकले नेपाल रिपब्लिका मिडिया प्रा.लि.द्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत तीन दर्जनभन्दा बढी श्रमजीवी पत्रकारको सेवा÷सुविधा उपलब्ध नगराएको, सेवाबाट निष्कासन गर्न खोजेको जस्ता कार्यप्रति सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नागरिक दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरूले व्यवस्थापन प्रति असहमति जनाउँदै गरेको आन्दोलनपछि पत्रकार र नागरिक व्यवस्थापनबीचको समझदारीको कार्यान्वयनका बारेमा समेत काउन्सिलले अनुगमन गर्ने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले देशभरका सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ ।