४१ वटा दलको दर्ता खारेज

भक्तपुर, साउन १९
निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको आज (मंगलवार) विज्ञप्ती मार्फत जानकारी दिएको हो ।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था अनुसार दलको दर्ता खारेज गरेको हो ।
दर्ता खारेज हुने दलहरुमा नेपाः राष्ट्रिय पार्टी, अखण्ड नेपाल पार्टी, चुरे भावर राष्ट्रिय पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, राष्ट्रिय जनता दल नेपाललगायतका छन । दर्ता खारेज भएको चुरे भावर संविधानसभामा सांसद र मन्त्री बनाएको पार्टी हो ।
आयोगले खारेज भएका दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत गरेको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायमा लेखेर पठाइएको छ जनाएको छ ।
दर्ता खारेज भएका दलका पदाधिकारीहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अन्य दलका पदाधिकारी र सदस्यसमेत बन्न नपाउने निर्णय आयोगले गरेको छ ।