माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने

भक्तपुर, साउन १८
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो ।
उहाँले हालसम्म अनुदान, कोभ्याक्स सुविधा र खरिद गरेको समेत गरी ९७ लाख मात्रा खोप नेपाल आएको र त्यसमध्ये आइतबारसम्म ६२ लाख १७ हजार ९९२ मात्रा खोप लगाइसकिएको जानकारी दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठले हाल केन्द्रीय भण्डार टेकुमा ३ लाख ५० हजार, प्रदेशका भण्डारहरुमा १३ लाख र ७७ जिल्लामा १८ लाख मात्रा खोप मौज्दात रहेको बताउनुभयो ।
उहाँले वयस्क तथा किशोर–किशोरीलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोनको ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो ।
उहाँले केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा खोपका लागि सम्झौता भएको भए पनि आफुले मन्त्रालय सम्हालेपछि १ करोड ५० लाख खोप खरिदका लागि सम्झौता गरिसकेको बताउनुभयो । साथै १ करोड १० लाख खोपको भुक्तानी प्रक्रियामा रहेको र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।