व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न

भक्तपुर, साउन १८
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी स्वयम् चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर रेडिमेड व्यापार संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरीग संघ, भक्तपुर सौन्दर्यकला व्यवसायी संघ र भक्तपुर लेडि जेसिज्को संयुक्त आयोजनामा आइतवार आयोजित व्यवसायिक सुरक्षामा प्रहरी र व्यवसायीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा एसपी श्रेष्ठले अपराध नियन्त्रणमा प्रहरी एक्लैले सम्भव नभएको र यसका लागि समुदायका सबै निकायहरुको साथ सहयोग आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे रत्न मानन्धरले व्यवसायिक सुरक्षा उद्यमी व्यवसायीको प्रमुख मुद्दा भएको र घटना भई सकेपश्चात अपनाउनु पर्ने प्रक्रियाहरुमा अनभिज्ञ हुँदा दोषी कारबाहीको दायराबाट उम्किन सफल भएको बताउनुभयो । उहाँले व्यवसायिक क्षेत्रमा हुने गरेका अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायिक एकता अत्यावश्यक रहेकोमा पनि जोड दिनुभयो ।
सो अवसरमा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्ष माधव प्रसाद प्रजापतिले व्यवसायिक क्षेत्रमा हुने गरेका चोरी, ठगी र लुटपाटजस्ता घटनाहरुलाई न्यूनिकरणमा सहयोग पु¥याउने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
भक्तपुर सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष समिता ध्वजूले कोरोना संकटका कारणले सबैलाई आर्थिक संकट परिरहेको अवस्थामा चोरी, ठगी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने सम्भावना रहेको बताउँदैं यस्ता खालका अपराधहरु महिला उद्यमी व्यवसायी मात्रै हुने स्थानमा झनै हुने जोखिम भएका कारण बढि सतर्क हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य रोशन भोयद्यो, भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास धौबजी, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष सचिन्द्र श्रेष्ठलगायत सहभागीहरुले व्यवसायिक सुरक्षाका विविध पक्षमा आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।