भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु

फाइल तस्विर

भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिकाका ७८ वर्षिय एक पुरुष र सूर्यविनायक नगरपालिकाका १० का ५६ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी चाँगुनारायण नगरपालिका ५ की ५५ वर्षिया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१३ पुगेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा २ सय पुरुष र ११३ महिला छन । भक्तपुरमा कोरोनाबाट सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा एक सय जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुने मध्ये ६७ जना पुरुष र ३३ जना महिला छन ।
त्यसैगरी सूर्यविनायक नगरपालिकामा ५४ पुरुष र ३१ महिला गरी ८५ जनाको मृत्यु भएको छ भने भक्तपुर नगरपालिकामा ७९ जना मृत्यु भएकोमा ४८ पुरुष र ३१ महिला छन । चाँगुनारायण नगरपालिकामा ३१ महिला र १८ पुरुष गरी ४९ जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो ।
यसैबीच भक्तपुरमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । यहाँ आइतवार साँझसम्म १३ हजार १२६ पुरुष र ११ हजार ८७ महिला गरी २४ हजार २१० जनामा कोरोना संक्रमण भएको मिजारले जानकारी दिनुभयो । ती मध्ये २२ हजार ९३० जना संक्रमण मुक्त भएका छन । जुन ९४ दशमलव ७१ प्रतिशत हो ।
यसैगरी सक्रिय कोरोना संक्रमितको संख्या ९६७ रहेको छ । सक्रिय संक्रमित मध्ये २५ पुरुष ३३ महिला गरी ५८ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन भने ४५७ पुरुष र ४५२ महिला गरी ९०९ जना होम आइसोलेसनमा छन ।