माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन – एमाले नेता श्रेष्ठ

भक्तपुर, साउन ८
नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहेको बताउनुभएको छ । नेपाल खेलकुद महासंघ जिल्ला समिति भक्तपुरले ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिवार मध्यपुर थिमिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेता श्रेष्ठले नेपाललाई नक्कली कम्युनिष्ट र अपराधीको संज्ञा दिँदैं अब एमालेमा नेपालको स्थान नरहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘दुई तिहाई बहुमत नजिकको सरकारलाई अल्पमतमा पु¥याएर सत्ता किस्तीमा राखेर विपक्षीलाई बुझाउने नेता कम्युनिष्ट हुन सक्दैन । त्यस्ता अपराधीहरुलाई पार्टीमा कुनै स्थान हुँदैन ।’ उहाँले नेता नेपाल बाहेकका अरु नेताहरुलाई गल्ती सच्याएर पार्टीको मुलधारमा आए स्वागत गरिने जानकारी दिनुभयो ।
आफ्नो मन्तव्यमा पटक पटक नेपाल पक्षको नामै नलिने बताएपनि उहाँले वरिष्ठ नेता नेपाललगायतको आलोचना गर्न भने छुटाउनु भएन । नेता श्रेष्ठले कार्यक्रममा पुष्पलालको भन्दा पनि मदन भण्डारीको बढी चर्चा गर्नुभयो । उहाँले नेकपा एमालेको पाँचौं महाधिवेशन प्रसंग कोट्याउँदै दशरथ रंगशालामा भएको उद्घाटन सत्रमा नेता नेपाल र झलनाथ खनालले महासचिव भण्डारी बोल्न नदिएको लगाउँदै त्यसबेला भण्डारीलाई पार्टीको नेतृत्वमा जानबाट रोक्न षडयन्त्र गरेका नेपाल खनालले अहिले ओली विरुद्ध षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
मदन भण्डारीको हत्यापछि नेता नेपाल पार्टीको महासचिव बनेको उल्लेख गर्दै नेता श्रेष्ठले अमर लामाको हत्या किन भयो त्यसको छानविन गरेर भण्डारीको हत्यारासम्म पुग्नुपर्ने बताउनुभयो ।
उहाँले संसद बचाउन प्रधानमन्त्री शेरबहादर देउवालाई विश्वसको मत दिएको नेपाल पक्षको तर्कको प्रतिवाद गर्दै संसद बचाउनु थियो भने ओलीलाई किन विश्वासको मत नदिएको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतको निर्णय मान्ने आधार नभएपनि यसको कार्यान्वयनको लागि स्वीकारेर अघि बढेको बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओली विरुद्ध देशी विदेशी शक्ति लागेको आरोप लगाउनुभयो ।
सो कार्यक्रममा नेता श्रेष्ठले नेपाल खेलकुद महासंघ भक्तपुरका पदाधिकारीसहित ८३ जनाको नाम पढेर जिल्ला समिति घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुष्पलालको तीन स ण्सिद्धान्त, संगठन र संघर्ष) अनुसार पार्टी र नेताहरु चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्र पद, पैसा र शक्तिका लागि चलखेल गर्ने, दायाँबाँया गर्नेहरुलाई पाखा लगाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वखेलकुद मन्त्री एवं महासंघका इन्चार्ज दाबा लामा, महासंघका अध्यक्ष रमेश पौडेल, नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य राजेन्द्र राजथला, निर्मल भट्टराईलगायतले पुष्पलालको विविध पक्षबारे चर्चा गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले जनताको माझमा गएर सूसुचित गराउनुपर्ने बताउनुभयो ।