मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने

भक्तपुर, असार १८
मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद र नेपाल जिम्न्यास्टिक संघबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल र संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले हस्ताक्षर गर्नुभएको हो ।


कर्भड हलका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने र आवश्यक बजेट राखेप र संघले व्यवस्था गरिने सहमति भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यसका लागि नपाले ३ रोपनी ९ आना क्षेत्रफलको जग्गा उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख श्रेष्ठले कभर्डहल निर्माणका लागि करिव २५ करोड रुपैंया लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । ‘थिमीमा बन्ने अन्तर्राष्ट्रिय स्तरको कर्भडहलका लागि २५ करोड बजेट इष्टिमेड गरिएको छ । बजेट अलि ठूलो रकमको भएपनि आगामी आर्थिक वर्षदेखि हल बनाउने कार्य शुरु हुन्छ,’ प्रमुख श्रेष्ठले भन्नुभयो ।
कभर्डहल निर्माणको सम्झौता पत्रमा हस्ताक्षर गर्नु अघि कभर्डहलको बारेमा विस्तृत प्रस्तुतीकरण समेत गरिएको थियो ।