नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन भेटियो

भक्तपुर, असार ७
नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको छ । राष्ट्रिय प्रयोगशालाले देशका विभिन्न भागबाट गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी ४८ वटा नमूना संकलन गरी भारतस्थित डब्लुएचओ मान्यताप्राप्त प्रयोगशालामा गरेको परीक्षणमा कोरोना भाइरसको नयाँ म्युटेसन फेला परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको जनाएको हो । संकलित नमुना जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो ।
ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको जनाएको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको हो, जसलाई ए वाई .१ नाम पनि दिईएको छ ।
हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा (बि.१.१.७) र डेल्टा (बि.१.६१७.२) भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बि.१.६१७.१) पुष्टि भएको छ ।
यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाईएको मन्त्रालयले जनाएको छ । केही समयअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यही म्युटेसन हुन सक्ने बताईएको छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन भूमिका बढाउन अपिल गरेको छ ।