धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ

भक्तपुर, असार ७
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ ।
चौलागाईंलाई काठमाण्डौं सुन्धारामा लुकीछिपि बसेको अवस्था पक्राउ गरिएको हो । चौलागाईंले पिडित बालिकालाई धुलिखेलबाट घुम्न जाउँ भनी ललाई फकाई गत असार ५ गते भक्तपुरको गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको पिडित बालिकाले दिएको बयानका आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटना विवरण अनुसार सो बालिका गत असार ५ गते बिहान १० बजे हराएका थिए । बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौको प्रहरी टोलीले आइतवार बालिकालाई सुन्धारामा फेला पारेको थियो ।
बालिकासँग आवश्यक सोधपुछ गर्नेक्रममा चौलागाईले ललाई फकाई घुम्न जाउ भनी सँगै लिएर आएको र भक्तपुरमा पुगेपछि खाजा नास्ता खाउँ भनी गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती करणी गरेको बयान दिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान गर्दै पक्राउ परेका चौलागाईंलाई कानुनी कारवाहीको प्रक्रिया चलिरहेको प्रनाउ गिरीले बताउनुभयो ।