मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

भक्तपुर, असार ७
मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधि बहाल भएको पाँच वर्षमा पहिलो पटक विवाद रहित ढंगले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । विगतका वर्ष नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूहमा विभाजित हुँदा नगरसभा पनि विवादित हुने गर्दथ्यो । गतवर्ष नगरसभा बैठकै नबसी बहुमत नगरसभा सदस्यहरुको हस्ताक्षर संकलन गरी नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो भने दुई वर्ष अघिको नगरसभा बैठक उपप्रमुखलगायतका जनप्रतिनिधिले बहिष्कार गरेको थियो ।


प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने जोखिम रहेको र तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने विभिन्न अध्ययन र विज्ञहरुको निष्कर्ष समेतलाई ध्यानमा राख्दै बालबालिकाहरूको लागि बिशेष वार्डको ब्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी कोभिड–१९ को पिसिआर परीक्षण वडाको सिफारिसमा नेपाल केरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क गर्ने, बोडेस्थित कृषि बिकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा अक्सिजन सहितको प्राथमिक उपचारको व्यवस्था गर्ने, नगरभित्रका गरिब असाहयहरुको कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्ने र कोभिड विरूद्धको खोप खरिद र अनुदान प्राप्तिको लागि पहलकदमी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


त्यसैगरी वडास्तरिय बजेटबाटै लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने, मापदन्ड पुरा भएका विद्यालयहरूलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने, उपभोक्ताको काम कारबाही ब्यवस्थित पारदर्शी र नतिजामुलक बनाउन उपभोक्ता समिति गठन, संचालन र ब्यवस्थापन सम्बन्धी कार्यविधि बनाई यसै वर्षबाट लागु गरिने नीति लिएको नगरपालिकाका प्रवक्ता राम थापामगरले जानकारी दिनुभयो ।
नगरपालिकाले सार्बजनिक जग्गाको संरक्षण गरी र उपभोग गर्न वडा स्तरबाटै कार्यक्रम कार्यान्वयनमा ल्याईने भएको छ । सैनिक ब्यारेक गठ्ठाघर देखि मनोहरा पुल सम्म ३ ओटा बस बिसौनीमा विश्रामस्थल निर्माण गर्ने भएको छ ।


नगरभित्र फोहोरको वर्गिकरण गरी संकलन गर्ने कार्य वडास्तरबाटै गरिने नीति लिएको प्रवक्ता थापाले बताउनुभयो । स्थानीय स्वायत्त शासन ऐन–२०५५ बमोजिम स्थायी रूपमा कार्यरत कर्मचारीहरूको स्तर बृद्धि र समायोजन यसै बर्षदेखि शुरु गर्ने, वडास्तरबाट नै खेलकुद गतिबिधिको लागि बजेट विनियोजन गर्ने, राधे–राधे, गठ्ठाघर र सानोठिमी मा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने, ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पुर्बी भागमा संजिबनी पार्क निर्माण गर्ने, घर नक्सा पास प्रकियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन सेवा ईबिपिएस प्रणाली लागु गर्ने भएको छ ।
काँलाडोल–बुढाथोकि गाउँ, हनुमन्ते, मनोहरा–निलबाराही लगायतका स्थानमा जग्गा एकिकरण आयोजना लागु गर्न उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने, करको दर बृद्धि नगरी करको दायरालाई फराकिलो पार्दै ब्यवसाय दर्ता अभियान चलाउने नीति नगरपालिकाले लिएको छ ।