वैद्यलाई आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिन कांग्रेसको निर्देशन

भक्तपुर, जेठ २९
नेपाली कांग्रेसले आफ्ना बागमति प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई शब्द फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका नेता ईन्द्र बानियाँ र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न र शब्द फिर्ता लिन निर्देशन दिनुभएको हो ।
वैद्यले शुक्रवार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदैं प्रधानमन्त्री के पी शर्मा ओलीप्रति आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँले प्रदेशसभाको रोष्ट्रमबाट प्रधानमन्त्री ओलीले देश खान लागेको भन्दै नाथुराम गोड्सेको खाँचो भएको र कोही बन्न तयार नभए आफु बन्ने की भनी प्रश्न गर्नुभएको थियो । ‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’ उहाँले भन्नुभएको थियो । गोड्से त्यही व्यक्ति हुन जसले माहात्मा गान्धिको हत्या गरेका थिए ।

सो अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने परम्परा कांग्रेसको नभएको बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन । शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’ उहाँले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्ति अराकता एउटै नभएको पनि प्रष्ट पार्नुभएको छ ।
त्यस्तै बाँनियाले पनि वैद्यलाई पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न आग्रह गर्नुभएको छ । उहाँले पनि सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘कांग्रेस सांसद नरोत्तम बैद्यले वाग्मती प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।’