शताब्दी पुरुष जोशीको स्वास्थ्य सुधार

भक्तपुर, जेठ २९

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य सुधार देखिएको छ । छातीमा सामान्य दुखाइ महसुस गरेपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ जेठ २६ गते अस्पताल भर्ना हुनुभएको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा जोशीको छातीमा सानो दाग देखिएको छ । उक्त दाग पुरानो हो की नयाँ हो भन्ने बारे थप परीक्षण भइरहेको चिकित्सकले बताएका छन ।

शुक्रबार अपराह्न शताब्दी पुरुष जोशीलाई भेटेर फर्किएका ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएको जानकारी दिनुभयो । फोक्सोमा दायाँ भागमा पानी जमेर २०७१ सालमा जोशी लामो समय बिरामी पर्नुभएको थियो ।