गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्म म्याद

विपक्षी गठबन्धनले आजै दावी गर्ने तयारी
भक्तपुर, जेठ २८
गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहिवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सिताकुमारी पौडेलले २४ घण्टाको समय दिनुभएको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले शुक्रवार विज्ञप्ती प्रकाशन गर्दै प्रदेश प्रमुख पौडेलले शनिवार दिउँसो ३ बजेसम्म संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधारसहित मुख्यमन्त्री दावी गर्न आह्वान गरेको जानकारी दिनुभएको हो ।
प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव माथि छलफल हुने दिन अचानक राजिनामा दिएका गुरुङ संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताका हैसियत दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । त्यसरी नियुक्त भएका गुरुङले संविधान बमोजिम ३० दिनभित्र प्रदेश सभाको विश्वासको मत लिने क्रममा असफल हुनुभएको थियो ।
प्रदेश प्रमुखले अर्को प्रदेश सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषदलाई नै कामकाज गर्ने जिम्मेवारी दिएको छ । संविधान अनुसार धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसके प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच नेपाली कांग्रेससहितको गठबन्धनले आजै नयाँ सरकार गठनको दावी गर्ने भएको छ । विपक्षी गठबन्धनको सहमति अनुसार कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री दावी गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिने तयारी भएको बुझिएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने तयारी भइरहेको सांसद विन्दुकमार थापाले बताउनुभयो । सरकार गठनका लागि कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाउने तयारी भइरहेको छ ।