बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने

भक्तपुर, जेठ २८
बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने र यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ । प्रधानमन्त्री जोनसनले भन्नुभयो, ‘यूकेको खोप कार्यक्रमको सफलताका कारण हामी आफूसँग अतिरिक्त संख्यामा रहेका खोपहरू आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा छौँ । त्यसो गर्दा हामीले महामारीलाई पराजित गर्न एउटा ठूलो कदम चालेका हुनेछौँ ।’ उहाँले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेको उल्लेख गर्दै अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने बताउनुभयो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । कोर्नवालमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडनले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाले कुनै पनि सर्त बिना खोपहरू उपलब्ध गराउनेछ । हाम्रो खोप अनुदानमा हामीलाई कुनै किसिमको सहयोग गर्न दबाब वा सम्भावित छूट जोडिएको छैन । मानव जीवन रक्षा गर्न हामीले यस्तो गरिरहेका छौँ ।’