देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

भक्तपुर, जेठ २८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन र प्रदेशहरुमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । बैठक देउवा निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने जनाएको छ ।
पार्टीको १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
कांग्रेसले आगामी भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय गरेको छ । तर कोरोना भाइरसको महामारी र आन्तरिक मतभेदका कारण केही जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरण बाँकी रहेको छ । कांग्रेसले भदौमा महाधिवेशन गर्न नसके पार्टीको जिवन्ततामा संवैधानिक संकट आउनेछ ।
कोरोना महामारीको जोखिमकाबीच कांग्रेसलाई महाधिवेशन गर्नुपर्ने चुनौती रहेको छ । कांग्रेसभित्र वैकल्पिक विधि अपनाएर भएपनि महाधिवेशन गर्नुपर्ने विषयमा समेत चर्चा चल्न थालेको छ । सभापति देउवा महाधिवेशन गर्न चिन्तित नभएको आशंकासहितका अभिव्यक्ति केही नेताहरुबाट आउन थालेपछि देउवाले बुधवार मात्रै विज्ञप्ती जारी गरी निर्धारित मितिमा महाधिवेशन हुने प्रतिवद्धता जनाएका थिए ।