शिक्षासेवी महर्जनको निधन

भक्तपुर, जेठ २५
भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ । कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका महर्जनको कोरोना नेगेटिभ आएपनि थप उपचारको क्रममा निधन भएको हो ।
माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल स्व. महर्जन भक्तपुरको शिक्षा क्षेत्रको विकासमा निक्कै चिन्तित र क्रियाशिल हुनुहुन्थ्यो । उहाँले भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्य र ‘शिक्षाको पर्यटन जिल्ला’ बनाउने अभियान सञ्चालन गर्नुभएको थियो ।
२०२६ साल कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनु भएका महर्जनले शिक्षाको विकासका लागि दुई दशक योगदान दिनु भएको छ । पत्रकारितामा समेत चासो राख्ने उहाँले लेखेका शिक्षासंग सम्बन्धित धेरै प्रेरणादायक लेखहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशित छन् ।
बिभिन्न ठाउँमा शिक्षाको विकास र शिक्षासंग सम्बन्धित बिभिन्न विषयमा प्रशिक्षण दिदै आउनु भएका महर्जनले यूट्युव च्यानलमार्फत विद्यार्थी, अभिभावक र शिक्षाकर्मीका लागि दिने प्रेरणादायी अभिव्यक्तिहरुबाट उहाँ चर्चामा आउनु भएको थियो । स्वर्गीय महर्जनको एक पत्नी र एक छोरा रहेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का वर्तमान् केन्द्रीय प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष महर्जनले प्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष, प्याब्सन भक्तपुरका अध्यक्षकारुपमा समेत कार्य गरिसक्नुभएको छ ।
महर्जन नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले प्रदान गर्ने स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारका संस्थापक समेत हुनुहुन्छ । उहाँको निधनमा महासंघ भक्तपुरले शोक वक्तव्य प्रकाशन गर्दै गहिरो दुःख व्यक्त गरेको छ । महासंघका जिल्ला सचिव संजीप घिमिरेले जारी गर्नुभएको शोक वक्तव्यमा महर्जनको निधनले भक्तपुरको शिक्षा क्षेत्रले एउटा नक्षत्र गुमाएको उल्लेख गरेको छ ।