सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण

भक्तपुर, जेठ, २५
भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत सरोकारवालाहरुको भनाई छ ।
भक्तपुर नगरभित्र विद्युतका तार भूमिगत गर्ने विषयमा आज सम्पन्न अनलाइन बैठकमा सहभागीहरुले सरोकारवाला र जनताहरुबीच आवश्यक छलफलपश्चात योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तार भूमिगत गर्ने विषयमा आवश्यक सहकार्य र पहलको लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित तार र केबलहरुबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको छ । सम्पदा बस्तीभित्र तारहरु भूमिगत गर्ने विषय चुनौतीपूर्ण भएपनि नगरपालिका आवश्यक सहकार्य र पहल गर्न सकारात्मक छ ।”
उहाँले यस सम्बन्धमा सम्बन्धित सरोकारवाला र जनताहरुबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने धारणा राख्नुभयो । भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा पुनः तार भूमिगत गर्ने विषयले अन्योलता ल्याएको बताउँदैं उहाँले तार भूमिगत गर्दा देखिने चुनौतीका विषयमा आयोजनाले आवश्यक ध्यान दिनुपर्ने र यथाशीघ्र आयोजनाको काम अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।
बैठकमा नेपाल विद्युत प्राधिकरणअन्तर्गत ललितपुर र भक्तपुरमा भूमिगत तार व्यवस्थाका आयोजना प्रमुख बीरेन्द्रकुमार झाले भक्तपुरको तार भूमिगत गर्ने विषयमा प्रस्तुतीकरण दिनुभयो । उहाँले भूमिगत केबलको विषयमा जनस्तरमा सूचना प्रवाह गर्न सके जनताबाट साथ र सहयोग पनि पाउने र आयोजना पनि समयमै सम्पन्न हुने बताउनुभयो ।
आयोजनाका केदारराज सिलवालले ऐतिहासिक नगरी भक्तपुरमा अव्यवस्थित तारले नराम्रो प्रभाव पारिरहेको हुँदा तार भूमिगत गर्न सकेको खण्डमा भक्तपुर सुन्दर र सुरक्षित पनि हुने बताउनुभयो । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधिहरु र सरोकारवाला प्राविधिकहरुको उपस्थिति थियो ।