राष्ट्रिय परिचयपत्रका सम्बन्धमा भक्तपुर नगरका रुजु अधिकारीहरुलाई अभिमुखीकरण

भक्तपुर, कार्तिक ९
भक्तपुरमा राष्ट्रिय परिचय पत्रको लागि नागरिकको विवरण संकलन अभियानलाई तिब्रता दिने क्रममा भक्तपुर नगरपालिकामा पनि टोली खटाउने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले भक्तपुर नगरका रुजु अधिकारी र वडाअध्यक्षहरुलाई मंगलवार अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले दश अंकको व्यक्तिगत परिचय नम्बर उल्लेख हुने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण, औंलाको छाप, फोटो तथा आँखाको नानीको तस्बिरसहितको सूचना संकलन गरिने हुँदा नागरिकको संवेदनशील विवरणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर राष्ट्रिय परिचय पत्रको विवरण संकलनको काम गरिनुपर्नेमा जोड दिनुभयो ।
राज्यले दिने सम्पूर्ण सेवा र सुविधा सहज र सुलभ बनाउनु पर्नेमा जोड दिँदैं नगर प्रमुख प्रजापतिले राष्ट्रिय परिचयपत्रको वितरण सवारी चालक अनुमति पत्रको जस्तो ढिलासुस्ती हुन नहुने बताउनुभयो । उहाँले स्मार्ट शब्दको प्रयोग गरिदैंमा त्यसको सेवा सुविधा स्मार्ट नहुने हो भने त्यसको कुनै अर्थ नहुने बताउँदैं भक्तपुर नगरको सम्पूर्ण सेवा स्मार्ट सिटीको जस्तो भएको दावी गर्नुभयो ।
उहाँले व्यक्तिको सम्पत्तिको सुरक्षा हुने तथा जालसाझी र किर्ते कामहरु नियन्त्रण गर्न पनि राष्ट्रिय परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले राष्ट्रिय परिचय पत्र विवरण संकलनको क्रममा हुनसक्ने त्रुटीलाई ध्यानमा राखी आवश्यक संशोधनको व्यवस्था पनि गरिनुपर्नेमा जोड दिँदैं “राज्यले संकलन गरेका नागरिकहरुका व्यक्तिगत विवरणहरु सुरक्षित हुनुपर्छ । आउन सक्ने समस्याको समाधानका उपाय पनि अवलम्वन गरिनुपर्छ” भन्नुभयो ।


प्रमुख प्रजापतिले कर्मचारी राम्रो भएन भने जनताले दुःख पाउने तर्फ सचेत पार्दै भन्नुभयो, “विवरण संकलनमा खटिने कर्मचारीको व्यवहार राम्रो हुनुपर्छ । उद्देश्य मात्र राम्रो भएर हुँदैन । व्यवहारिक र कार्यान्वयन पनि राम्रो हुनुपर्छ ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले राष्ट्रिय परिचय पत्र नागरिकहरुको लागि उपयोगी भएको चर्चागर्दै यसबाट नागरिकहरुको व्यक्तिगत पहिचान राष्ट्रबाट हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यक्तिको वैयक्तिक र जैविक विवरणसहितको डिजिटल पहिचान स्थापना गर्ने उद्देश्यले नेपाल सरकारले बहुउपयोगी राष्ट्रिय परिचयपत्रको अवधारणा अगाडि सारिएको बताउनुभयो । नेपाली नागरिकता प्राप्त नागरिकहरुले मात्र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको प्रष्ट पार्नुभयो ।
आधुनिक युगमा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामको लागि समेत प्रयोगमा ल्याउन सकिने हुनाले यो परिचयपत्रको अत्यन्त महत्व रहने बताउँदें उहाँले हाल २० वटा जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भइसकेको र १० वटा जिल्लामा सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका १९ वटा वडामा हाल ६९ वटा केन्द्रबाट विवरण संकलनको कार्य भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका सहायक सीडीओ सीता परियारले राष्ट्रिय परिचय पत्र वितरण र विवरण दर्ताबारे आफ्नो प्रस्तुतीकरण देखाउनुहुँदै यो परिचयपत्र भौतिक र अनलाइन दुवै माध्यमबाट प्रयोग गर्न सकिने र यसमा नेपाली नागरिकता प्राप्त नागरिकहरुको वैयक्तिक र जैविक विवरण नागरिकहरुको पहिचान र हितमा सञ्चालिन कार्यक्रमअन्तर्गत रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, वडा सचिव तथा रुजु अधिकारीहरुले राष्ट्रिय परिचय पत्र विवरण संकलनको समयमा देखिने घरभाडामा बस्नेहरुको विवरण संकलन गर्ने की नगर्ने, जन्म मिति राख्ने विधि, महिलाको दोस्रो विवाह भएको, बहुपत्नि भएको, जात र धर्म उल्लेख गर्न नचाहेमा के गर्ने जस्ता समस्याहरुबारे आ–आफ्नो जिज्ञासाहरु राख्नुभएको थियो । ती जिज्ञासाको सम्बन्धमा प्रजिअ शर्माले स्पष्ट पार्नुभएको थियो ।