जनताको गुनासो नआउने गरी काम गर्न भक्तपुरका प्रजिअ शर्माको निर्देशन

भक्तपुर, कार्तिक ९
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारी कार्यालयका प्रमुखहरुलाई जनतालाई सहज, सरल तरिकाले छिटो छरिटो सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ शर्माले सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिंदै जनताको गुनासो सुन्नु नपर्ने गरी काम गर्न निर्देशन समेत दिनुभयो ।
“सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी कार्यसम्पादन गर्नुहोस । बहुसंख्यक जनताको हित हुनेगरी योजना बनाउन र विकास निर्माणका काम पारदर्शी तरीकाले जनताको गुनासो सुन्नु नपर्ने गरी गर्नुहोस,” बैठकमा प्रजिअ शर्माले निर्देशन दिनुभयो ।
उहाँले प्रत्येक ३ महिनामा प्रगती विवरण सार्वजनिक गर्न निर्देशन दिंदै आफूले सोको अनुगमन गर्ने समेत बताउनुभयो । यातायात, नापी, भूमिसुधार तथा मालपोत, आन्तरिक राजस्व लगायतका कार्यालयहरुलाई बिचौलिया मुक्त बनाउन र सेवाग्राहीले सोझै पाउने सेवा नदिइ बिचौलियालाई प्रश्रय दिएको पाइएमा कार्वाही गरिने चेतावनी समेत दिनुभयो ।
कोभिड संक्रमणको जोखिमलाई थप न्यूनिकरण गर्न र हालको अवस्थालाई नियन्त्रणमा राख्न थप योजना बनाउन प्रजिअ शर्माले सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित स्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल र सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
बैठकमा स्थानीय पालिकासँग समन्वय गरेर कोभिडको परीक्षण बढाउन र खोपका मात्र बढाउन स्वास्थ्य कार्यालय प्रमुखलाई प्रजिअ शर्माले निर्देशन दिनुभयो । सम्भावित जोखिम क्षेत्रको पहिचान गरी एण्टिजेन परिक्षणको मात्रा बढाउन र कोभिडविरुद्धको खोप अभियानलाई थप प्रभावकारी ढंगले संचालन गर्न सुझाव दिनुभयो ।
भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले नेपाल कोरीया मैत्री नगरपालिका अस्पतालले बिमाका बिरामीलाई सेवा नदिंदा ती बिरामी भक्तपुर अस्पतालमा थपिएका र चाप बढेको जानकारी गराउनुभयो ।
बैठकमा क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले सल्लाघारीको हनुमन्ते पुलनजिकको सडक बिग्रेका कारण बिरामीको आवतजावतमा समस्या भएको बताएपछि प्रजिअ शर्माले तत्कालै सडक डिभिजन प्रमुख सुमन योगेशलाई बाटोको खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभयो ।
प्रजिअ शर्माले कृषि ज्ञान केन्द्रका प्रमुखसँग केहि दिन अघि परेको वर्षाले भक्तपुरको धानबाली क्षती भए नभएकोबारे जानकारी लिनुभएको थियो ।
बैठकमा डिभिजन बन कार्यालयका प्रमुख प्रेमप्रसाद खनालले भ–ुमाफियाका कारण वन क्षेत्र जोखिममा रहेको जानकारी गराएका थिए भने उपत्यका बिकास प्राधिकरणका प्रमुखले नगरपालिकाले अव्यवस्थित प्लटिंग स्वीकृती दिएर अप्ठ्यारो पारिरहेको गुनासो गरेका थिए ।
घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा र उद्योग वाणिज्य संघका संजीव गोगेलले भक्तपुरमा नापतौल कार्यालय नहुँदा साना उद्यमीलाई समस्या परिरहेको जानकारी गराए ।
बैठकमा प्रजिअ शर्माले सडकमा अव्यवस्थित रुपले रहेका बिजुली, केवल र अन्य सेवाप्रदायकका तारहरुलाई व्यवस्थित गर्न सरोकारवाला विद्युत र टेलिकमका प्रमुखहरुलाई निर्देशन दिनुभयो । त्यसैगरी उहाँले खानेपानी र ढल निकासको समस्या समाधानमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नपर्ने आवश्यकता औल्याउनुभयो । प्रजिअ शर्माले वातावरण सरसफाईमा ध्यान दिन आग्रह गर्दै प्रत्येक सरकारी कार्यालयका खाली जग्गामा बोटबिरुवा लगाउन निर्देशन दिनुभयो ।