अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार

भक्तपुर, कार्तिक १०
अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित प्रतिवेदनअनुसार संस्थाले गत आ.व. २०७७÷०७८ मा १० करोड २६ लाख ६७ हजार ११२ रुपैयाँ १७ पैसा आम्दानी गरी ९ करोड ३२ लाख ३९ हजार ४३४ रुपैयाँ ७० पैसा खर्च भई ९४ लाख २७ हजार ६७७ रुपैयाँ ४७ पैसा मुनाफा गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संस्थाले कार्तिक ३ गतेदेखि १७ गतेसम्म कार्यालयमा नै साधारणसभा तथा निर्णय प्रमाणिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
संस्थाका अध्यक्ष बच्चुराम थापाले सहकारीहरुका निहीत स्वार्थ र महत्वकांक्षी योजनाका कारणले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो संस्था त्यतातिर नलागेको स्पष्ट पार्नुभयो । उहाँले संस्थाको आफ्नै निर्माणाधिन भवनमा निरन्तर काम भई रहेको बताउँदै यस आर्थिक वर्षभित्रै नयाँ भवनबाट कार्यालय संचालन हुने जानकारी दिनुभयो ।
सचिव राजु श्रेष्ठले संस्थाले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा बृद्धि भईरहेको बताउनुभयो । उहाँले संस्थाले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै आफ्नो सदस्यहरुका छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले आफ्ना सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो ।
कोषाध्यक्ष तुलसादेवी थापा राईले संस्थामा २ हजार ९७ महिला र २ हजार ९२ पुरुष गरी कूल ४ हजार ८८९ जना सदस्यबाट ३ करोड २१ लाख ३८ हजार ७०० रुपैयाँ शेयर पुँजी संकलन भएको जानकारी दिनुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी बृद्धि गर्ने उद्देश्यले संस्थाका सदस्यहरुलाई नियमानुसार शेयर खरिद गर्न र थप सुविधा सहितको नयाँ कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनुभयो । उहाँले संस्थामा काम गर्ने कर्मचारीहरुको मनोबल र आत्मबल बढाउन समय, काल, परिस्थिति अनुरुप आवश्यक नयाँ ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने नीति अवलम्बन गर्नुपर्ने तथा संस्थाको आर्थिक एवं प्रशासनिक व्यवस्था समयानुकुल सुदृढ गर्नका लागि विद्यमान नीति नियम र कार्यविधिहरु परिमार्जन गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।
संस्थाका प्रबन्ध निर्देशक राजु थापाले अनमोलले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सफल भएको बताउनुभयो । उहाँले सदस्यको सन्तुष्टि नै संस्थाको सफलताको कडी भएकोले सदस्यहरुको आवश्यकता र चाहाना अनुरुप कार्यक्रमहरु बनाई लागू गर्ने र मूल्यांकन गर्ने योजना संस्थाको रहेको जानकारी दिनुभयो ।