बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

भक्तपुर, असोज २७
नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।
इतिहासमै पहिलो पटक राउण्ड रोविन लिगको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल दुई जित, एक हार र एक बराबरीका साथ ७ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले उपाधीका लागि फाइनलमा माल्दिभ्स वा भारतसँग प्रतिष्पर्धा गर्नेछ । लिगको अन्तिम खेलमा आजै राती आयोजक माल्दिभ्स र भारत भिड्दै छन । सो खेलमा जित वा बराबरीले माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ । भारतलाई फाइनल प्रवेशको लागि निश्चित जित आवश्यक छ ।


मालेस्थित राष्ट्रिय रंगशालामा भएको रोमान्चक खेलमा एक गोलले पछि परेको स्थिती उल्टाउदै नेपालले बराबरी खेलेको हो । खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानको फ्रिकिकमा हेड मार्फत उनले उत्कृष्ट गोल गरेका थिए ।
नेपालले खेलको ८६ औं मिनेटमा बराबरी गोल फर्काए । अञ्जन बिष्टको पेनाल्टी गोलमार्फत नेपालले बराबरी गोल गर्दै खेलमा फर्केको हो । मोहमद साद उद्दीनले अन्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।


त्यसअघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।
यसअघि खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।
१५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाल्यो । गौतम श्रेष्ठले पेनाल्टी क्षेत्रको दायाँ भागबाट कटब्याक गर्दै ६ यार्ड बक्सनजिक रोहित चन्दलाई पास दिएका थिए । तर अनमार्क रहेका रोहितले बललाई पोस्टको दिशा दिन सकेनन् ।


३२ औं मिनेटमा अन्जन विष्टको क्रसमा आयुष घलानको प्रहारलाई डिफेन्डर टोपुले क्लियर गर्दै खतरा टारेका थिए । ४२ औं मिनेटमा रोहितको क्रसमा दिनेशको हेडरलाई बंगलादेशका अनिसुर रहमानले सहजै बचाए । इन्ज्युरी समयमा रोहिकै क्रसमा आयुषको हेडरले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशका गोलरक्षक अनिसुर पुनः नेपालको प्रयासमा बाधक बने । अनन्तको हेडरपछि आयुष घलानको अन्तिम प्रहारलाई उनले उत्कृष्ट बचाउ गरे । खेलको ५५ औं मिनेटमा नेपालका कप्तान किरण चेम्जोङले वन भर्सेस वनमा उत्कृष्ट बचाउ गर्दै खेलमा नेपालको सम्भावना कायम राखे । काउन्टर अट्याकमा सुमनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार किरणले विफल पारेका थिए ।
६४ औं मिनेटमा सुमन रेजाको प्रहारलाई गोलरक्षक किरणले सहजै बचाए । लगत्तै अर्कोतर्फ नवयुगको हेडरमा बंगलादेशका गोलरक्षक अनिसुर बाधक बने । ७० औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा रोहितको हेडर पोस्ट नजिकबाट बाहिरिंदा नेपाल बराबरी गर्नबाट चुक्यो ।
नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो । सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो ।