नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै

भक्तपुर, भाद्र २४
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाण्डौंको दशरथ रंगशालामा हुने खेलसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दशरथ रंगशालामा डेब्यु समेत गर्नेछ, साथै विदेशी प्रशिक्षकको समेत डेब्यु हुनेछ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमले सन् १९८६ मा पहिलो पल्ट एएफसी वुमेन्स च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यस यता करिव ३५ वर्षको अवधीमा नेपाली महिला टोलीले दशरथ रंगशालामा खेल्ने समय जुरेको थिएन । बंगलादेशसँगको खेलसँगै महिला टोलीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने ३५ वर्षदेखीको सपना समेत पुरा हुनेछ ।
नेपालले महिला टोलीले सन् २०१६ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै घरेलु मैदानमा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो, तर सो खेल सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको थियो ।
त्यसयता नेपालमा दुई अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सम्पन्न भएपनि दशरथ रंगशालामा नभई विराटनगर र पोखरामा भएको थियो । नेपालले सन् २०१८ मा पहिलो पटक महिला राष्ट्रिय टोलीको प्रतियोगिता आयोजना गर्ने क्रममा विराटनगरमा महिला साफ च्याम्पियनसिप आयोजना गर्यो । त्यसैगरी दुई वर्ष अघि नेपालमा भएको साफ खेलकुद प्रतियोगितामा महिला फुटबल पोखरामा भएको थियो ।
नेपाली महिला टोली मुख्य फरवार्ड सावित्रा भण्डारी विना मैदानमा उत्रँदैछ । उनी चोटका कारण टोली बाहिर छिन । अर्की फरवार्ड शर्मिला थापा टोलीमा नै नपर्नुले यसपटक युवा खेलाडीलाई अवसरको ढोका खुल्नेछ । बंगलादेशविरुद्धको खेल प्रशिक्षक ग्यारी फिलिप्सको पनि पहिलो परीक्षा हो । विगत एक महिनादेखी नेपाली टोलीलाई प्रशिक्षण दिईरहेका फिलिप्स महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन ।
प्रशिक्षक फिलिप्सले पहिलो पटक टोलीमा परेका अनिता केसी, सरु लिम्बु, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, प्रिती राई, निशा थोकर, सिर्जना सिंह र विमला विकलाई डेब्यु गराउने सम्भावना रहेको छ । यसबाहेक टोलीमा नियमित खेल्दै आएका गीता राना, हिरा भुजेल, पुनम जर्घा मगर, अमृता जैसी र पुजा रानाले पनि अवसर पाउनेछ । टोलीमा पोस्ट सम्हाल्न एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ छन ।
त्यसैगरी मिडफिल्डमा दिपा राई र रेनुका नगरकोटेको अनुभवको सदुपयोग हुनेछ भने इन्दिरा राई, अनिता बस्नेत, विमला चौधरी र मन्जली तामाङले पनि मौका पाउन सक्छ । बंगलादेशविरुद्धको खेल अघि बुधवार आयोजित प्रिम्याच प्रेस कन्फरेन्समा प्रशिक्षक फिलिप्सले नेपाली टोलीको बलियो पक्ष अनुसार शुरुवाती एघार घोषणा गर्ने बताए ।
प्रशिक्षक फिलिप्सलाई सहायक प्रशिक्षकहरु चेतन घिमिरे, अरुणा गुरुङ, भगवती थापा र श्रीप्रकाश वैद्यले साथ दिइरहेका छन । अखिल नेपाल फुटबल संघको महिला विभाग प्रमुख हरी खड्काले पनि टोलीलाई नजिकबाट नियालीरहेको बताईएको छ ।
महिला फुटबलमा बंगलादेशविरुद्धको इतिहास नेपालको पक्षमा रहेको छ । सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन । हालसम्म खेलेका ६ खेलमा नेपालले ५ जित र १ बराबरी खेलेको छ ।
तर पछिल्ला खेलमा बंगलादेशले आफ्नो प्रदर्शन भने निकै सुधार गरेको छ । उमेर समूहमा बंगलादेश नेपालमाथि हावी हुन थालेको छ । उमेर समूहको टोलीदेखी साथमा रहेका प्रशिक्षक गोलामका कारण पनि बंगलादेशको प्रदर्शनमा सुधार देखिएको हो ।
युवा खेलाडीको बाहुल्यता, दशरथ रंगशालामा खेल्ने अवसर, घरेलु मैदान र दर्शकको साथले एसियन कप छनोटको तयारीमा रहेको महिला टोलीले बंगलादेशविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने विश्वास गरिएको छ ।
नेपाली महिला टोली उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्ने तयारीमा रहेको छ । छनोटमा नेपाल फिलिपिन्स र हङकङसँगै समूह ‘एफ’ मा रहेको छ । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले फिलिपिन्ससँग खेल्दै सेप्टेम्बर १८ (असोज २) मा छनोटको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ (असोज ५) मा हङकङको सामना गर्नेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ ।