विवादले परम्परा विथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा

लक्ष्मी गारु, भक्तपुर, साउन २३
भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनौटमा विवाद भएपछि शुक्रवार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा विथोलिएपछि यसवर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ ।
घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्परा अनुसार शुक्रवार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाहरुबीच नकीं छनोटमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो ।
झडपमा दुवै पक्षका केही सामान्य घाईते भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विवाद भएपछि प्रहरीले सुरक्षा दिएको हो । दुई पक्षबीच सामान्य झडप भएपनि प्रहरीले स्थिती नियन्त्रणमा लिएको हो ।’


नवदुर्गा देवगणको परम्परा अनुसार घण्टाकर्ण चतुदर्शीका दिन देवगण र नकींको पालो फेर्ने प्रचलन रहेको छ । त्यसका लागि केही दिन अघि पालो अनुसार देवगण र नकीं छनोट गरिन्छ । यसवर्ष देवगण छनोटमा विवाद नभएपनि नकीं छनोटमा भने विवाद भएको थियो ।
नवदुर्गा देवगणको नकींमा भक्तपुर नगरपालिका–७ का हरिगोविन्द वनमाला र कृष्णराम वनमालाको परिवारले दावी गरेका थिए । नकींमा दुई परिवारको दावी परेपछि विभिन्न चरणमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले हरिगोविन्दको परिवारलाई नकींको जिम्मेवारी तोकेको थियो ।


तर कृष्णरामको परिवारले परम्परा अनुसार आफ्नो परिवारको पालो भएको दावी गर्दै पालो मिचिएको भन्दै असन्तुष्टी जनाएको थियो । उहाँले पाटन उच्च अदालतमा आफुलाई अन्याय गरेको र पालो मिचिएको भन्दै रिट समेत दर्ता गर्नुभएको छ, जुन विचाराधिन रहेको छ ।
नकीं छनोटमा विवाद उत्पन्न भएपछि नवदुर्गा द्योछें परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीकै सामुन्ने दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो ।
नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य बालकृष्ण बनमालाले घण्टाकर्णको अन्तिम दिन नकीं छनौट भई पद हस्तान्तरण गर्ने बेलासम्म पनि नकीं छनोट हुन नसकेपछि विवाद र झडप भएको बताउनुभयो । उहाँले विवादले नवदुर्गा देवगणको परम्परा नै विथोलिएको जानकारी दिनुभयो ।


नवदुर्गा देवगणको परम्परा अनुसार घण्टाकर्ण चतुदर्शीको बेलुकी महादेव सिद्ध गर्ने, देवगणको मखुण्डो बनाउन निम्ता दिन जानुका साथै माटोको पुजा गर्नुपर्ने प्रचलन रहेको छ । त्यसैगरी तालक्वस्थित कुमाले टोलमा पुगेर देवगणले नवदुर्गा गणको जात्रा सञ्चालनका लागि आवश्यक भाँडाकुँडा बनाउन आग्रह गर्न जानुपर्ने परम्परा रहेको छ । तर झडपले ती सबै परम्परा विथोलिएको बालकृष्णले बताउनुभयो । घण्टाकर्ण चतुदर्शीको राती देखी नै देवगणको नाचको प्रशिक्षण शुरु हुने परम्परा रहेकोमा झडप र विवादले यसवर्ष सो परम्परा पनि विथोलिएको छ ।
तत्काल विवाद समाधान नभए यसवर्ष नवदुर्गा देवगणको जात्रा नै सञ्चालन नहुने जोखिम बढेको उहाँले बताउनुभयो । ‘दुई तीन दिनभित्र विवाद समाधान नभए यसवर्ष नवदुर्गा गण जात्राका कुनै पनि परम्परा सञ्चालन हुन सक्दैन,’ उहाँले भन्नुभयो । उहाँले समितिका अध्यक्ष र देवगणका नाइके समेत रहेका व्रिजेश वनमालाको दम्भ र पक्षपातपूर्ण व्यवहारले झडपको स्थिती आएको आरोप समेत लगाउनुभयो ।
स्रोतका अनुसार नवदुर्गा देवगणको नकींमा शेरबहादुर वनमाला र जयमल वनमालाको परिवारले १२÷१२ वर्षमा पालो फेर्दै आएका थिए । वि. सं. २०५४ मा नकीं छनोटमा हरिगोविन्द वनमालाको परिवारले पनि दावी गरे । वि. सं. २०२६ सालको पालो र नवदुर्गा देवगणको नामाकरणको वंशावली तथा मुल लिखतहरुको अध्ययनले हरिगोविन्दको पनि नकींमा दावी पुगेको देखिएपछि २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा शेरबहादुर, जयमल र हरिगोविन्दबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सोही सहमति अनुसार यसवर्ष हरिगोविन्दको परिवार नकीं हुने पालो रहेको स्रोतको दावी रहेको छ ।
नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र देवगणको नायो व्रिजेश वनमाला छन । व्रिजेश शेरबहादुरका भतिजा हुन । स्रोतका अनुसार शेरबहादुरले अन्तरजातिय विवाह गरी धर्म समेत परिवर्तन गरेका कारण उनले भतिजलाई प्रयोग गरी विवाद सृजना गरेको वनमालाहरु बताउँछन । वनमाला समुदायले अन्तरजातिय विवाह गरेको खण्डमा उनीबाट जन्मेको सन्तान देवगणमा सामेल हुन नपाउने नियम छ । त्यसै कारण शेरबहादुरले भतिजालाई प्रयोग गरी विवाद उत्पन्न गराएको स्रोतले बताए ।
कृष्णरामको परिवारलाई नकींको जिम्मेवारी दिए नवदुर्गा देवगणमा पहिलो पटक एकै परिवारका नकीं र नायो बन्ने छन । तर नवदुर्गामा एकै परिवारका नकीं र नायो बनेको इतिहास नभएको वनमालाहरु बताउँछन । नवदुर्गाको वंशावलीमा समेत एकै परिवारलाई नकीं र नायो दिन नहुने उल्लेख गरेको वनमालाहरुको दावी रहेको छ ।
समितिका अध्यक्ष एवम् नायो ब्रिजेशले कुनै पनि नियम मिचेर काम नगरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पालो नाइके र अध्यक्ष म भएकाले मैले शक्ति प्रयोग ग¥यो भने तर मैले त्यस्तो केही गरेको छैन । धालापौ(बंशावली)अनुसार यस पाली श्री बहादुरको हो । त्यो अनुसारै मेले मिलाएको हो ।’
उहाँले बंशावली वनमालाहरुले पल्टाउन र हेर्न नहुने परम्परा रहेको बताउँदैं जोशी बजुले पल्टाएर हेर्ने र सोही अनुसार पालो दिएको बताउनुभयो । उहाँले नकीं विवाद २०५४ सालदेखि भएको र त्यसबेला जिल्ला प्रशासन कार्यालयम गएर सहमती गरेर आएको जानकारी दिनुभयो । ‘मैले त्यस्तो कुनै पदको दुरुपयोग गरेको भए म पदबाटै राजीनामा दिन तयार छु,’ उहाँले भन्नुभयो, ‘गएको १४ गते नै सबै देवगण र ८ नाइकेको रोहबरमा यो तय गरिएको थियो । नकींको तय पनि जोशीले बंशावली हेरेर गरेको हो मैले केही गरेको छैन । मलाई गुन्डा प्रवृति देखायो भनी आक्षेप लगाए ।’
नवदुर्गा द्योछेंको छनोट हुने नकींले नवदुर्गाको मन्दिरमा दैनिक नित्य पूजा, आरती गर्नुका साथै जात्रा सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने परम्परा रहेको छ । नकींले कुनै तलव भत्ता पाउने व्यवस्था नभएपनि मन्दिरमा चढाएको भेटी, दान दक्षिणामा एकाधिकार राख्न पाउने परम्परा रहेको छ ।
तस्विर सौजन्य, बालकृष्ण वनमाला