एसईईको नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा स्थगित

भक्तपुर, साउन २३
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७७ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलको अध्यक्षमा बोर्डको कार्यालय सानोथिमिमा बसेको बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
बिहान ११ बजे शुरु भएको बैठक २ः३० बजे सकिएको थियो । बोर्डले एसईई कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७८ स्वीकृत गरी सोही कार्यविधिका आधारमा विद्यालयद्धारा गरिएको अन्तिम मुल्यांकनको विवरण विद्यालयहरुले सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइहरुमा पठाई त्यहाँबाट प्रमाणित भई आएको विवरणका आधारमा नतिजा प्रमाणित गरिएको जनाएको छ ।
यसवर्ष कुल ५ लाख १७ हजार १२२ जना विद्यार्थीहरुले रजिष्ट्रेसन फाराम भरेकोमा विद्यालयबाट परीक्षाका लागि योग्य ४ लाख ८४ हजार २७८ जनाको प्रमाणित प्राप्ताङ्क विवरण प्राप्त भएकोले सोही अनुसार नतिजा प्रमाणिकरण गरिएको कायम मुकायम परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताउनुभयो ।
यसवर्ष नतिजा प्रकाशनमा ग्रेड नछुट्याईको उहाँले जानकारी दिनुभयो । ‘यसवर्ष विद्यालयले जुन नतिजा पठाएको हो त्यसैलाई प्रमाणिकरण गरी सार्वजनिक गरिएकाले ग्रेड छुट्याउने कार्य गरिएन,’ उहाँले भन्नुभयो ।
सार्वजनिक गरिएको नतिजामा प्रदेश १ का ८२ हजार ७६०, प्रदेश २ का ७५ हजार ८३६, बागमति प्रदेशका १ लाख ५ हजार ६२९ र गण्डकी प्रदेशका ४६ हजार २४३ विद्यार्थीको नतिजा समावेश गरिएको छ । त्यसैगरी लुम्बिनी प्रदेशका ८२ हजार १७०, कर्णाली प्रदेशका ३६ हजार ३४२ र सुदरपश्चिम प्रदेशका ५५ हजार २९८ विद्यार्थीहरुको नतिजा सार्वजनिक गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । सरकारले कोरोना भाइरसको संक्रमण बढेपछि परीक्षा सञ्चालन नगरी २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो । एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।
यसैगरी बैठकले कक्षा १२ को पूर्व निर्धारित परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । बैठकको निर्णय केही बेरमा सार्वजनिक गरिने बताईएको छ ।
बोर्डले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो । तर बढ्दो कोरोना संक्रमणको जोखिमका कारण परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो ।