धादिङ जवाङ खोला पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु

भक्तपुर, असार १९
धादिङको जवाङ खोलामा आएको पहिरोले ५ वटा सवारी साधन पुरिँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । मृत्यु हुनेमा ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका–६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवी छन ।
प्रजा सोही ट्रकमा मृत फेला परेका थिए भने सोनीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा आएको पहिरोले बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पी एन २८ ए ए ०१२० नम्बरको ट्रक पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरी र इलाका प्रहरी कार्यालय बेनीघाटबाट डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । स्थानीय सरकार र सडक विभागको टोली पनि खोज तथा उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।