चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ

लक्ष्मी गारु, भक्तपुर, असार १९

अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल बैंकमा रहेको बैंक खातामा अहिले ४ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।
त्यस्तै देवी माध्यामिक विद्यालयलको कक्षा १० मा अध्ययनरत सुनिता झाङ्गजुको पनि नेपाल बैंकमा रहेको खातामा ४ हजार भन्दा बढी रकम जम्मा भएको छ । देवी माविकै कक्षा ८ मा अध्ययनरत सन्ध्या बस्नेतको पनि अनामिका र सुनिताको जस्तै बैंक खातामा रकम जम्मा भएको छ ।
अनामिका, सुनिता र सन्ध्याको मात्र होइन चाँगुनारायण नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययनरत चाँगुनारायण नगरबासी छात्राहरु सबैको बैंक खाता खोलिएको छ र त्यो खातामा सबैको ४ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ । सो खतामा यसवर्ष पनि थप चार हजार जम्मा हुने छ । यो क्रम छात्रा १२ कक्षा उत्तिर्ण नभएसम्म निरन्तर चलिरहनेछ र १२ कक्षा उत्तिर्ण भएपछि एकमुष्ट व्याजसहित झिकेर कुनै व्यवसाय वा थप उच्च शिक्षा अध्ययन गर्न लगानी गर्न सक्नेछ ।
चाँगुनारायण नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने नगरबासी छात्राहरुको बैंक खाता हुनु र सो खातामा वर्षेनी कम्तिमा ४ हजार रुपैंया जम्मा हुनुको कारण हो नगरपालिकाको ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम ।
सामुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, गुणस्तरीय शिक्षा प्राप्त गर्न, बालविवाह निरुत्साहित गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम शुरु गरेको हो ।
यस कार्यक्रम अन्तर्गत चाँगुनारायण नगरपालिकाले कक्षा नर्सरीदेखी कक्षा १२ अध्ययनरत ९३७ जना छात्राहरुको बैंक खाता खोल्नुका साथै प्रत्येकको खातामा ४ हजारका दरले ३७ लाख ६८ हजार रुपैंया जम्मा गरिसकेको शिक्षा शाखाका अधिकृत दिनेश अर्यालले जानकारी दिनुभयो ।
नगरका ३५ सामुदायिक विद्यालय मध्ये ३२ विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखी १२ कक्षासम्म अध्ययनरत ९३७ छात्राहरुले यो सुविधा प्राप्त गरेको अर्यालले बताउनुभयो । तीन वटा विद्यालयमा भने स्थानीय बासिन्दाका छोरीको संख्या शुन्य भएकोले ती विद्यालयमा यो कार्यक्रम लागु हुन नसकेको अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रम चाँगुनारायण नगरबासी र नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने मापदण्डका कारण तीन वटामा शुन्य भएको उहाँले बताउनुभयो । “स्थानीयको हकमा मात्र यो सेवा प्रदान गरिएको छ । यसको सुविधा लिन विद्यार्थी नपामै जन्म भएको वा चाँगुनारायण नगरपालिकाभित्र स्थायी बसोबास भएको हुनुपर्छ,” उहाँले भन्नुभयो ।
एक छात्राले कति रकम पाउँछन ?
यसका केही निश्चित मापदण्ड निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी छात्राको नेपाल बैंकमा खाता खोलिने छ । खातामा नगरपालिकाले प्रत्येक वर्ष ४ हजार रुपैंया जम्मा गरिदिने छ । छात्राले खाताको रकम १२ कक्षा उत्तिर्ण गरेपछि मात्र झिक्न मिल्ने गरिएको छ । बैंकले पनि प्रचिलित भन्दा केही बढी प्रतिशत व्याज दिने व्यवस्था गरिएको छ ।
कार्यक्रम शुरु भएको वर्ष कक्षा १ मा हुने छात्राले १२ कक्षा पुग्दा नगरपालिकाबाट ४८ हजार पाउँछन । त्यस्तै अहिले कक्षा ११ मा पढ्ने छात्राले दुई वर्ष रकम पाउँछन भने कार्यक्रम शुरु हुँदा कक्षा ५ मा हुने छात्राले ८ वर्षको ४८ हजार पाउँछन । त्यसमा व्याज वापतको रकम थप हुनेछ ।
के सबै छात्राले यो सुविधा पाउँछन ?
यो कार्यक्रम चाँगुनारायण नगरपालिकाका स्थायी बासिन्दाका छोरीहरुलाई लक्षित गरी ल्याईएको हो । यस कार्यक्रममा सहभागी हुने छात्रा चाँगुनारायण नगरपालिका भित्र जन्म भएको वा नगरभित्र स्थायी बसोबास गरी नगरभित्रकै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको हुनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
कार्यविधिमा ‘आर्थिक वर्ष २०७७÷०७८ देखि चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत कार्यक्रममा सहभागी हुन चाहने नगरपालिकाका स्थायी वासिन्दा छोरीहरुलाई लक्षित वर्ग सम्झनु पर्दछ’ भन्ने उल्लेख गरिएको छ ।
चाँगुनारायण नगरभित्र स्थायी बसोबास भएर नगरपालिका भन्दा बाहिरको सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले पनि यो सुविधा नपाउने शिक्षा शाखाका अधिकृत अर्यालले बताउनुभयो । त्यसैगरी चाँगुनारायण नगरपालिकाभित्र अस्थायी बसोबास गर्ने र चाँगुनारायण नगरबाहिर बसोबास गरेर नगरभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुले पनि यो सुविधा नपाउने अर्यालले जानकारी दिनुभयो ।
नगरप्रमुख मिश्रले पनि चाँगुनारायणका नगरबासीले तिरेको कर वापतको रकम चाँगुनारायण बासीको हितमा खर्च गर्ने नीतिका कारण यस्तो नीति बनाउनु परेको बताउनुभयो ।
कार्यक्रमको उद्देश्य
‘वचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम नगरपालिकाले निश्चित उद्देश्यका साथ लागु गरेको नगरप्रमुख मिश्रले बताउनुभयो । कार्यक्रमका मापदण्डका कारण छोरीहरु ड्रप आउट हुने समस्या हट्ने र उनीहरुले कम्तिमा १२ कक्षासम्म अध्ययन गर्ने वातावरण निर्माण हुने मिश्रले बताउनुभयो ।
त्यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बृद्धि गर्ने, छोरीहरुको उमेर २० वर्ष नपुग्दै हुने विवाह रोक्ने र जम्मा भएको रकमले भविष्यमा केही गर्न सकियोस भन्ने उद्देश्य नगरपालिकाले लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।
कुन अवस्थामा खाताको रकम झिक्न पाईंदैन
कार्यक्रममा सहभागी छात्राले १२ कक्षा उत्तिर्ण नगर्दै बीचमा पढाई छाडेमा, स्थायीरुपमा बसाई सराई गरेर अन्यत्र गएमा, १२ कक्षा उत्तिर्ण नहुँदै वा २० वर्ष नपुग्दै विवाह गरेमा भने खाताको रकम नपाउने शर्त रहेको नगरप्रमुख मिश्रले बताउनुभयो । यो कार्यक्रमले बालिका शिक्षामा ठूलो फड्को मार्ने विश्वास नगरप्रमुख मिश्रको रहेको छ ।
छोरा छोरीमा विभेदको जोखिम
यो कार्यक्रमको उद्देश्य धेरै सकारात्मक भएपनि एउटा जोखिम भने रहेको छ । समाजमा विद्यमान लैङ्गिक विभेदका कारण छोरालाई नीजि तथा बोर्डिङ विद्यालयमा पढाउने तर छोरीलाई सरकारी सामुदायिक विद्यालयमा पढाउने परम्परावादी चिन्तन हावी हुनुका साथै छोराछोरीमा विभेद हुने जोखिम भने रहेको छ । यस सम्बन्धमा नगरपालिकाले सुक्ष्म ढंगले अध्ययन गरिरहेको र यस्तो समस्या देखिए तत्काल कार्यक्रमका मापदण्ड सुधार गरी त्यस्ता प्रवृत्तिको अन्त्यका लागि नीति निर्माण गरिने नगरप्रमुख मिश्रले बताउनुभयो ।
“समाजको विकाससँगै छोरा छोरीबीचको विभेद हट्दै आएको छ । शिक्षामा यस्तो प्रवृत्ति अत्यन्त कम छ । यो कार्यक्रमले यसमा पार्नसक्ने प्रभावका बारेमा नजिकबाट अति सुक्ष्म तरिकाले अध्ययन पनि गरिरहेका छौं,” नगरप्रमुख मिश्रले भन्नुभयो, “त्यस्तो भेदभाव नहोला । यदि त्यस्तो भएको पाईएमा छोरीको खाताको पैसा रोक्का राख्नेसम्मको तहमा पुग्छौं । तर त्यसो नहोला भन्ने विश्वास छ ।”
विद्यार्थी र प्रधानाध्यापकको भनाई
कार्यक्रममा सहभागी विद्यार्थी र विद्यालयका प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गरेका छन । उनीहरुले कार्यक्रमले छोरीहरुको भविष्य सुनिश्चित गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन । उनीहरुले नगरपालिकाले जम्मा गरिदिएको रकमले १२ कक्षा भन्दा माथि अध्ययन गर्न उपयोगी हुने बताएका छन ।
गणेश मावि ताथलीमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएकी अनामिका छुंकाले भन्नुभयो, “कक्षा १२ सम्म जसोतसो गरी पढे पनि त्यो भन्दा माथिको पढाई नपाले जम्मा गरिदिएको पैसाले पढ्न पाउने भएँ । म धेरै खुशी छु । यसले गर्दा मेरो परिवारलाई पनि केही हदसम्म आर्थिक भार कम हुने विश्वास गरेकी छु ।”
देवी माविको कक्षा १० मा पढ्ने सुनिता झाङ्गजुले नगरपालिकाले यो कार्यक्रम ल्याएर छोरीहरु माथि ठूलो गुन लगाएको बताउनुभयो । “कक्षा १२ भन्दा माथि पढ्न नपाले खोली दिएको खाताको पैसाले पढ्न पाउने कुरामा अधिकासं छात्रा विद्यार्थीहरु खुशी छन् । यसले गर्दा घरमा बुबाआमा पनि निक्कै खुशी छन् । यो कार्यक्रम एकदमै राम्रो लाग्यो,” उहाँले भन्नुभयो ।
देवी माविकै कक्षा ८ मा पढ्ने सन्ध्या बस्नेतले उच्च शिक्षा हासिल गर्न कार्यक्रमले सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बुबा आमाको कमाई राम्रो छैन । सामान्य खेतीपाती हो । यसले गर्दा पछि क्याम्पस पढ्नलाई हामीलाई सजिलो हुने भयो ।”
देवी माविका प्रधानाध्यापक राजाराम छुंकाले कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि राहत पु¥याएको बताउनुभयो । “यो कार्यक्रम गत वर्ष मात्र नपाले ल्याएको हो । एक वर्षमै हाम्रो विद्यालयमा यसको सेवा लिने ९० जना विद्यार्थी पुग्यो । यसले गर्दा विद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।
तर कार्यक्रमको मापदण्ड भित्र नपरेका विद्यार्थीका अभिभावकहरुको भने आफ्ना छोरीहरु कार्यक्रममा नपरेको भन्दै गुनासो गरेको उहाँले बताउनुभयो । उहाँले कार्यक्रमले छोरीहरुलाई पढ्नका लागि थप हौसला प्रदान गरेको बताउँदै यसवर्ष शैक्षिक शत्र शुरु भएसँगै छात्राको संख्या बढ्ने संकेत देखिएको जानकारी दिनुभयो ।
त्यस्तै गणेश माविका सहायक प्रधानाध्यापक सानुभाई रावतले अधिकासं विद्यार्थीहरु बाहिर जिल्लाका भएका कारण कार्यक्रमको लाभ लिनबाट बञ्चित भएकोले नगरपालिकाले विभेद गरेको गुनासो आएको बताउनुभयो । आफ्नो विद्यालयमा १६ जना छात्राले कार्यक्रमको लाभ लिइरहेको जानकारी दिँदैं उहाँले यसवर्ष कार्यक्रमकै कारण यसवर्ष विद्यार्थीको संख्या बढेको बताउनुभयो । लक्ष्मी गारु