एमाले बैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्ने बस्नेतको प्रस्ताव

भक्तपुर, असार १९
नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा नेता महेश बस्नेतले संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । नेता बस्नेतले बैठकमा ८ बुँदे प्रस्ताव पेश गर्दै संघियता र धर्म निरपेक्षताको समिक्षा गर्नुपर्ने बताउनुभएको हो ।
नेता बस्नेतको प्रस्तावमा मुलुकको विशिष्ट पहिचान घोषणा गर्ने, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने, दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था गर्नुपर्ने, पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
उहाँले पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन, विधान र चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न प्रस्ताव गर्नुभएको छ ।
यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । तर प्रधानमन्त्री के पी शर्मा ओलीका विश्वासपात्र बस्नेतले पार्टीकै बैठकमा यसलाई प्रवेश गराउनुले एमाले संस्थानपक्ष संघियता र धर्म निरपेक्षताबारे समिक्षा गर्न चाहेको हो की भन्ने सन्देश गएको छ ।