महिलालाई अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ

लक्ष्मी गारु, भक्तपुर, असार १७
गत बैशाख १२ गते बिहान पौने ५ बजे भक्तपुर कमलविनायक डेरागरी बस्ने सुनिता (नाम परिवर्तन) मर्निङ वाक जाँदै थिए । कमलविनायकस्थित प्लानिङको भित्रि बाटो पैदल हिँडीरहेको अवस्थामा मोटरसाइकलमा आएका एक पुरुषले छातीलगायतका संवेदनशील अंगमा समाई फरार भए ।
सुनिताले तत्काल घटनाको बारेमा प्रहरीलाई जानकारी गराउनुभयो । तर मोटरसाइकल नम्बर र ती पुरुषको हुलिया पत्ता नलाग्दा प्रहरीले अनुसन्धान जारी राखेपनि पक्राउ भने गर्न सकेको थिएन ।
त्यस्तै गत असार ४ गते बिहान ५ः४५ बजेको समयमा भक्तपुरस्थित एक एफएम रेडियोमा कार्यरत महिला पत्रकार सरला (नाम परिवर्तन) कार्यालय जाँदै गर्दा अरनिको राजमार्गस्थित आदर्शचोक नजिक जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको मोटरसाइकल अचानक मोडेर अश्लिल शब्द उच्चारण गर्दै सरलाको पिछा गरे । सरला डरले अलि छिटो छिटो हिँड्छन, तर ती पुरुषले अगाडिबाट बाटो छेकी अभद्र व्यवहार मात्र गरेन आफ्नो यौनाङ्ग देखाएर दुव्र्यवहार समेत गरे ।
त्यही बेला मोवाईल निकाल्दै फोटो खिचेर प्रहरीलाई जानकारी गराउने धम्की दिएपछि ती पुरुष मोटरसाइकल तिब्र गतिमा हुँक्याई फरार भए । सरलाले भाग्दै गरेका पुरुषको मोटरसाइकलको नम्वरसहितको फोटो खिच्न भ्याउनुभयो तर अल्फावेट प्रष्ट देखिएन ।
पिडित सरलाले घटनाको चार दिनपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अगुवाईमा प्रहरीमा लिखित उजुरी दिनुभयो । मोटरसाइकलको नम्बरको आधारमा अनुसन्धान र खोजतलास गर्दा अन्ततः प्रहरी ती पुरुषलाई पक्राउ गर्न सफल भएका छन । ती पुरुषलाई भक्तपुरको कमलविनायकबाट मंगलवार पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताउनुभयो ।
पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घरभई हाल चाँगुनारायण नगरपालिका–६ भत्केको पाटी नजिक बस्ने ३६ वर्षिय चमार सिं तामाङ छन ।
‘गत पुसदेखी यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौं अहिले आएर पक्राउ गर्न सफल भयौं,’ प्रनाउ थापाले भन्नुभयो । भक्तपुरको कमलविनायक र च्याम्हसिंह क्षेत्रमा बटुवा महिला तथा बालबालिकाहरुको संवेदनशिल अंगमा समाई दुव्र्यवहार गरेका घटना भएको भन्दै पिडितहरुको उजुरी बढेपछि घटनामा संलग्नलाई रेकी गरेर पक्राउ गर्न तीन महिला प्रहरी जवानलाई आधुनिक पहिरनमा घटनास्थलमा परिचालन गरेको प्रनाउ थापाले बताउनुभयो ।
अनुसन्धानका क्रममा तामाङले गत पुसदेखी बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडीरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अंगहरुमा समाउने र छातीलगायतका अंगहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले जानकारी दिनुभयो ।
प्रनाउ थापाका अनुसार तामाङले १४ वर्षिया बालिकादेखी ६० वर्षिय महिला समेतलाई दुव्र्यवहार गरेको खुल्न आएको छ । शुरुका केही घटनामा महिलाहरुको संवेदनशिल अंगमा समाएर दुव्र्यवहार गर्ने गरेका तामाङले पछिल्ला घटनाहरुमा भने यौनाङ्ग देखाउने गरेको पाईएको प्रनाउ थापाले बताउनुभयो ।
पछिल्लो घटनामा मोटरसाइलको अल्फावेट नखुलेपनि नम्बर खुलेपछि अनुसन्धानलाई थप तिब्रता दिएको बताउँदैं प्रनाउ थापाले भन्नुभयो, ‘केही शंकास्पदलाई सोधपुछ गर्नुका साथै सुक्ष्म तरिकाले अनुसन्धान गर्नेक्रममा आरोपीको पहिचान खुल्यो र पक्राउ गर्न सफल भयौं ।’
भाग्नेक्रममा मोटरसाइलको बत्ति निभाएर भाग्ने गरेकाले मोटरसाइकलको नम्बर पहिल्याउन नसकेको पिडित सुनिताले बताउनुभयो । ‘हेल्मेटको भाइजरले मुहार छोप्ने, कालो ज्याकेट लगाएर आउने, घटना गरे लगत्तै मोटरसाइकलको हेडलाईट निभाएर भाग्ने गर्दथे,’ सुनिताले भन्नुभयो ।
तामाङलाई पक्राउ गरेको खबरले एक दर्जन भन्दा बढी पिडित महिलाहरु बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये ६ जनाले किटानी जाहेरी समेत दिएका छन । तामाङले एकै महिलालाई तीन पटकसम्म दुव्र्यवहार गरेको पिडित महिलाहरुले बताएका छन । सुनिताले भने, ‘मलाई यो मान्छेले तीन पटकसम्म हातपात गरे । एक पटक छातीमा हातपात गर्दा केही दिन छाति दुखेर सकस भएको थियो ।’
तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई ५ वटा अभद्र व्यवहार र एक वटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई ६ वटा मुद्दामा कारवाही चलाएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ ।
यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले घटनामा संलग्न तामाङलाई कडा भन्दा कडा सजायको माग गरेको छ । तामाङलाई पक्राउ गरे लगत्तै शाखा अध्यक्ष जगतकृष्ण प्रजापति र सचिव संजीप घिमिरे महानगरिय प्रहरी वृत्त जगताी पुगेर वृत्त प्रमुख प्रनाउ थापा समक्ष सो माग गरेको हो । ‘हेर्दा समान्य देखिएपनि यो एक प्रकारको जघन्य अपराध हो, यस्तो मनोवृत्तिका आरोपीलाई कडा भन्दा कडा कारवाही नगर्ने हो भने महिलाहरु स्वतन्त्रता पूर्वक हिँडडुल गर्न नसक्ने अवस्था आउन सक्छ,’ महासंघ अध्यक्ष प्रजापतिले भन्नुभयो ।