सन्तान साथमा नहुँदाको पिडा – ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बृद्धाश्रममा बस्नुपर्ने बाध्यता

लक्ष्मी गारु, भक्तपुर, असार १६

झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमानको मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालिन समाजको परम्परावादी सोचका कारण लक्ष्मी आमाबुबासँगै माईतीमा बस्दै आउनुभयो । उहाँलाई माईतीमा बस्दा कुनै समस्या भएन । दाजुभाईले राम्रै व्यवहार गर्थे ।

लक्ष्मी पोखरेल

तर अवसरको खोजीमा दाजुभाईहरु सबै विदेश गए । दिदीबहिनीहरु पनि विवाह गर्दै आ–आफ्नो घरजम गर्न थाले । बुबाआमा रहुन्जेल लक्ष्मीलाई कुनै समस्या भएन । जब आमाबुबा दुवैको मृत्यु भयो, तब लक्ष्मीलाई एक्लो महशुस हुने र बिरामी हुँदा होस या दैनिक दिनचर्यामा तातोपानी तताएर दिने पनि कोही भएन ।
लक्ष्मीलाई कहिले काँही नातेदारतर्फका भाइहरुले गा¥हो सा¥हो पर्दा सहयोग गर्थे । सधैं उनीहरुको सहयोग लिनपनि व्यवहारिक नभएपछि लक्ष्मीले रोज्नुभयो वृद्धाश्रम । ७५ वर्षिय लक्ष्मी भक्तपुर आदर्शस्थित सिद्धि शालिग्राम ज्येष्ठ नागरिक वृद्धाआश्रम बस्न थालेको ३ वर्ष भईसकेको उहाँले बताउनुभयो ।
“नातेदारका भाईहरुलाई कति दुःख दिउँजस्तो लाग्यो । त्यही भएर मलाई हेर्ने ठाउँमा पु¥याईदिनु भने,” उहाँले भन्नुभयो, “उनीहरुकै सहयोगमा यो ठाउँमा आईपुगें ।” वृद्धाश्रममा मासिक १८ हजार शुल्क बुझाउनु परेको उहाँले बताउनुभयो । “अहिले मलाई खुट्टा दुख्ने, प्रेसर र सुगर रोग छ । कसले हेर्छ । कोही छैन मेरो । मेरो साहार भन्नु नै भगवान र यही आश्रम हो,” उहाँले भन्नुभयो ।
त्यस्तै सोही आश्रममा बस्दै आउनुभएकी अर्की आमा हुन ६४ वर्षिया सपना सिग्देल । काठमाण्डौंकी सपनाको हेटौंडाका युवकसँग मागी बिवाह भएको थियो । वैवाहिक जीवन ठिक ठाक चल्दै थियो । विवाहको अर्को वर्ष सपनाले छोरीलाई जन्म दिनुभयो । भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी र सुखी बनाउँछ, तर उहाँको जीवनमा त्यस्तो हुन सकेन । विवाहको अनुपम उपहारकोरुपमा पहिलो सन्तान छोरीको जन्मसँगै उहाँलाई श्रीमानले साथ छाडे ।

सपना सिग्देल

अग्नी साक्षी राखी जीवनको हरेक पलमा साथ दिने वाचा कसम खाई सातफेरा लगाएका श्रीमानले छोरीको जन्मसँगै छाडेपछि सपना माईतीको शरणमा पुग्नुभयो । छोरीसहित माईतीमा बस्दै आउनुभएकी सपनालाई बुबा छउञ्जेल खासै समस्या परेन ।
सपनाका बुबा राष्ट्र बैकमा जागिरे हुनुहुनथ्यो । बुबाको पेन्सनले सपना र उहाँकी छोरीलाई आवश्यक पर्ने सम्पूर्ण खर्च सपनाकी आमाले व्यहोर्दै आउनुभयो । तर लामो समय माईती बस्न बाध्य सपनालाई दाजुभाईको व्यवहार निकोलाग्न छाड्यो । आमालाई पनि घरमा छोराबुहारीको कचकचले दिक्क बनाएपछि उनै आमाले सपनालाई सिद्धि शालिग्राम ज्येष्ठ नागरिक बृद्धाआश्रम पु¥याउनुभयो ।
सपना वृद्धाआश्रममा आईपुगेको चार वर्ष भईसकेको आश्रमका प्रशासन प्रमुख अनिल राजभण्डारीले बताउनुभयो । वृद्धाआश्रम आएपनि कहीलेकाँही फोनमा आमासँग कुरा गरेर मन बहलाउने गरेका सपना डेढ वर्ष अघि आमाको मृत्यु भएपछि एक्लो महशुस गर्छिन । बेलबेलामा सपनालाई भेट्न आउने छोरीपनि गतवर्षको लकडाउनदेखी आउन छाडेपछि ६४ वर्षिया सपनामा एकान्तमा बरबराउने समस्या देखिएको राजभण्डारीले बताउनुभयो ।
श्रीमान्को हेटौंडामा जग्गा जमिन भएपनि कानुन बमोजिमको अधिकार नदिएको उहाँले बताउनुभयो । वृद्धाआश्रममा राखेर स्याहार सुसार गरे बापत लिने मासिक १२ हजार भने श्रीमानले पठाउने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै पाटन लुक्सीकी ७८ वर्षिया सुर्जमायाँ श्रेष्ठ पनि ३ वर्षदेखी सोही आश्रममा बस्दै आउनुभएको छ । विवाहपछि एक छोरीलाई जन्म दिएकी श्रेष्ठ अहिले एक्लै हुनुहुन्छ । “विवाहपछि सन्तानको नाममा एउटी छोरी थिइन, त्यो पनि सानै उमेरमा भगवानलाई मन प¥यो,” उहाँले भन्नुभयो ।
आजभन्दा ४१ वर्ष अगाडि श्रीमान बितेर एक्ली भएकी श्रेष्ठ आश्रम आउनु भन्दा अघि ३० वर्षसम्म पाटन औद्योगिक क्षेत्रमा काम गरेर जीवन निर्वाह गर्दै आउनु भएको थियो । “सम्पत्तीको नाममा सानो घडेरी एउटा थियो, त्यो पनि जेठाजुलाई भाग लगाउनुपर्ने,” उहाँले भन्नुभयो, “जेठाजु भएसम्म घरमै बस्यौ । पछि उहाँको छोराछोरीहरुले हेरेन । वास्ता पनि गरेन । रोगी भएका कारण औषधी खर्च चाहिन्थ्यो । त्यो पनि भएन । आफ्नाले त हेरेन, अरुको के भर भनी आफु खुशी यहाँ बस्न आएँ ।’

सुर्जमाया श्रेष्ठ

सुर्जमायाँले अहिले आश्रमलाई मासिक १७ हजार तिर्नुपर्ने बाध्यता छ । त्यो शुल्क तिर्न संगोलको घर बेचेर आफ्नो भागमा आएको पैसा बैंकमा राखेको उहाँले बताउनुभयो । त्यही पैसा अहिले उहाँको जीवन जीउने आधार बनेको छ ।
सपना, सुर्जमाया र लक्ष्मी जस्तै दुर्गा सुवेदी पनि ४ वर्षदेखि आश्रमको साहारामा आफ्नो जीवन व्यतित गर्दै आउनुभएको छ । १५ वर्ष अघि श्रीमान वितेपछि छोरोको साहारामा बसेकी दुर्गालाई छोरोले पनि छोडेर गए । उहाँले भन्नुभयो, “सन्तानको नाममा भएको एउटा छोरो पनि चार वर्ष अघि सवारी दुर्घटनामा परेर मृत्यु भयो । त्यसपछि घरमा बस्ने वातावरण मिलेन । छोरोको साथीलाई भनेर यहाँ आएकी हुँ ।”
उमेरले ७२ वर्ष कट्नु भएकी दुर्गामा मुटु र मिर्गौलाको समस्या छ । घरमा बुहारी र नातिनीहरु छन । तर बुहारीको जागिर भएको र नातिनीहरु विदेश गएका कारण आफु आश्रममा बस्न आएको उहाँले बताउनुभयो । “बुहारीको जागिर छ । उनले मलाई रेखदेख गर्न भ्याउँदैन । नातिनीहरु पढ्न विदेश गईन । उनीहरुलाई पनि गाह्रो छ । त्यही भएर म यहाँ आएकी हुँ,” उहाँले भन्नुभयो ।

दुर्गा सुवेदी

उहाँले नातिनीहरुसँग फोनमा कुरा भने हुने गरेको बताउनुभयो । “कहिले काही फोनमा नातिनीहरुसँग कुरा हुन्छ । घर लिएर जान्छु भन्छे नानीहरुले हेरम के हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले आश्रमलाई मासिक १५ हजार तिर्ने गरेको बताउनुभयो । “त्यो पैसा आफ्नै कमाईबाट जोगाएको रकमबाट तिर्ने गरेको छु,” उहाँले भन्नुभयो, “पहिला टियुको होस्टेलमा काम गर्दा खेरीको पैसा जोगाएर राखेकी छु । त्यही पैसाले आश्रमको शुल्क तिर्छु ।”
आश्रममा आउने अधिकांश ज्येष्ठ नागरिकहरु आफ्नै खुसीले आउने गरेको आश्रमका प्रशासन प्रमुख अनिल राजभण्डारीले बताउनुभयो । “आफ्ना छोराछोरी विदेशमा भएका, सन्तान नभएका र घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरु स्वईच्छाले यहाँ आउँछन,” राजभण्डारीले भन्नुभयो ।
आश्रममा अहिले ३० आमा र ८ बुबा आश्रित छन । त्यस मध्ये अशक्त १२ जना रहेको राजभण्डारीले बताउनुभयो । “अशक्त ती १२ जना आमाबाका लागि दैनिक ३ जना कुरुवा २४ घण्टा खटिरहेका हुन्छन । अन्य बाआमाको हेरचााहका लागि २४ सै घण्टा ६ जना नर्स र ४ जना डाक्टरहरु खटाएका छौं,” उहाँले भन्नुभयो, “आश्रममा २६ जना कर्मचारी, स्वास्थ्यकर्मी कार्यरत छन ।”
आश्रमले आश्रममा बसेका ज्येष्ठ नागरिकहरुलाई दिनको पाँच पटक खाना चिया नास्ता दिने गरेको राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहान कालो चिया र बिस्कुट, आठ बजे दुध चिया, १० बजे खाना, २ बजे खाजा र आवश्यकता अनुसार कसैलाई रोटी त कसैलाई भात खुवाउने गरेको छ । आश्रित ज्येष्ठ नागरिकहरुलाई नियमित खानाका साथै आवश्यकता अनुसार पोषण पनि दिने गरेको राजभण्डारीले बताउनुभयो । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य विमा गरिएको र उपचारका क्रममा आवश्यक परेका औषधिहरु विदेशबाट समेत मगाएर दिने गरेको उहाँले बताउनुभयो । आश्रममा आश्रितहरुको जन्मदिन मनाउने र हरेक नेपाली चाडपर्व परम्परागत शैलीमा मनाउने व्यवस्था गरिएको छ ।
आश्रममा आश्रितहरुले शुल्क तिर्ने गरेको बताए पनि राजभण्डारीले भने निःशुल्क रुपमा आमाबुबाहरुलाई राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “इच्छा अनुसार दिनेको लिन्छौं । मासिक यति नै शुल्क भनेर तोकिएको छैन ।”
ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २० मा नेपाल सरकारले हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । तर भक्तपुरमा सरकारीस्तरमा कुनै केन्द्रको स्थापना र सञ्चालन गरेको छैन ।
भक्तपुर नगरपालिकाल ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतन स्थापना गर्नेभएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षणको लागि आदर निकेतनको व्यवस्था गर्ने उल्लेख गरेको छ भने वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन संचालनको लागि ५० लाख रुपैयाँ बजेट विनियोन गरेको छ ।