युरोकप २०२०– क्वाटरफाइनल समीकरण पुरा, स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

भक्तपुर, असार १६
युरोपको विभिन्न १० शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । प्रिक्वाटरफाइनलको अन्तिम खेलमा मंगलवार राती युक्रेनले स्वीडेनलाई २–१ ले पराजित गरेसँगै युरोकपको क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेलहरु दुई दिनको विश्रामपछि जुलाई २ बाट शुरु हुनेछ ।
क्वाटरफाइनलमा युक्रेनसँगै डेनमार्क, इटाली, चेक रिपब्लिक, बेल्जियम, स्पेन, स्विट्जरल्यान्ड र इंग्ल्यान्डले स्थान बनाए । प्रिक्वाटरफाइनलका केही अप्रत्यासित नतिजा पनि निस्के । विश्वविजेता फ्रान्स र युरोको साविक विजेता पोर्चुगल प्रिक्वाटरफाइनलबाटै बाहिरियो ।
प्रिक्वाटरफाइनलमा डेनमार्कले वेल्सलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यस्तै इटालीले संघर्षपुर्ण खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको दावेदार मध्येको एक नेदरल्यान्ड्सलाई चेक रिपब्लिकसँग स्तव्ध पार्दै क्वाटरफाइनलमा स्थान बनाए । चेकले दोस्रो हापको शुरुमा १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २–० ले हराए ।
युरोको साविक विजेता पोर्चुगल बेल्जियमसँग पराजित हुँदै घर फर्कियो । बेल्जियमले १–० को जित दर्ता गर्दै अन्तिम ८ मा पुग्यो । स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गर्दै ९ वर्षपछि युरोको क्वाटरफाइनल यात्रा तय ग¥यो ।


विश्वकप विजेता फ्रान्सको यात्रामा पनि स्विट्जरल्यान्डले पूर्णविराम लगाइदियो । एक समय ३–१ को अग्रता लिएको फ्रान्स अन्तिम समयमा सम्हालिन नसक्दा टाइब्रेकरमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पेले पेनाल्टी चुकाएका थिए । प्रिक्वाटरफाइनलको मात्र होइन यसपटकको युरोकपकै सनसनीपुर्ण नतिजा यो खेलको रहेको छ । इंग्ल्यान्डले जर्मनीलाई २–० ले स्तव्ध पार्दै क्वाटरफाइनलमा स्थान बनाए । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन र रहिम स्टर्लिङले गोल गरे ।
युक्रेन क्वाटरफाइनलमा स्थान बनाउने अन्तिम टोली बने । उसले स्वीडेनलाई २–१ ले पराजित गरे । खेलको करिव करिव अन्तिम क्षणमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गरेपछि युक्रेनले स्वीडेनलाई २–१ ले पराजित गर्दै युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो ।


आक्रमक शुरुवात गरेको स्वीडेनलाई युक्रेनको डिफेन्स र गोलरक्षकको संयमित प्रदर्शनले अग्रता बनाउन रोकेको थियो । खेलको २७ औं मिनेटमा युक्रेनले ओलेक्जान्दर जिन्चेन्कोको गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रको दायाँ भागबाट कप्तान आन्द्रे यार्मालेन्कोले आउटसाइड फुटबाट दिएको क्रसलाई बायाँ विंगबाट जिन्चेन्कोले गोल गरेका थिए ।
खेलको ४२ औं मिनेटमा फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई खेलमा फर्काए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफमा दुवै टोलीले एकपछि अर्को आक्रमण गरेपनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्वीडेन १० खेलाडीमा समेटिएपछि युक्रेनले खेलमा दवाब बढाए ।
खेल ट्राइब्रेकरतर्फ लम्कँदै गर्दा अतिरिक्त समयको दोस्रो हापको इन्ज्युरी समयमा दोभ्बिकले गोल गर्दै युक्रेनलाई जित दिलाए । उनले जिन्चेन्कोको क्रसमा गोल गर्दै युक्रेनलाई पहिलो पटक क्वाटरफाइनलमा युरोकपको पुर्याए ।
क्वाटरफाइनलका खेलहरु जुलाई २ देखी शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्नेछन । सेन्ट पिटर्सवर्गमा हुने खेल नेपाली समयअनुसार राती ९ः४५ बजे हुनेछ । इटालीले बेल्जियमको सामना गर्नेछ । जुलाई २ मा यो खेल म्युनिखमा राती नेपाली समयअनुसार १२ः४५ बजे हुनेछ ।
चेकले जुलाई ३ मा डेनमार्कविरुद्ध खेल्नेछ । खेल बाकुमा राती ९ः४५ बजे हुनेछ । क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनले इंग्ल्यान्डको सामना गर्नेछ । रोममा हुने यो खेल राती १२ः४५ बजे हुनेछ ।