भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतले पारित

भक्तपुर, असार १७
भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट बिहिवार सर्वसम्मतले पारित गरेको छ । नगर उपप्रमुख रजनी जोशीले गत असार १० गते प्रस्तुत बजेट नगरसभाको बिहिवार बसेको बैठकले आवश्यक छलफल गरी पारित गरेको हो ।
उपप्रमुख रजनी जोशीले प्रस्तुत गर्नुभएको रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छपन्न गरी अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ भने ख्वप अस्पताल कोभिड युनिटमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरबासीलाई निःशुल्क प्रदान गर्ने नीति लिएको छ ।


बजेटलाई सभामा निर्णयार्थ प्रस्तुत गर्नुभन्दा पहिले उपप्रमुख जोशीले सभासदहरुले राखेका विभिन्न जिज्ञासा र प्रश्नहरुको जवाफ दिनुभएको थियो । सो अवसरमा उपप्रमुख जोशीले नगरपालिकाको बजेट नगरको आवश्यकता अनुरुप तयार गरिएको जिकिर गर्नुभयो । उहाँले बजेट कार्यान्वयनका लागि सभासदहरुले दिनुभएका सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सभाको विशेष समयमा सभासद्हरु इन्द्रबहादुर प्याठले बाल सेवक विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्ने, गंगालक्ष्मी बमनुले सल्लाघारी क्षेत्रको दायाँबायाँमा वृक्षारोपण गर्नुपर्ने र ऐतिहासिक सम्पदाहरुको नामाकरण पुरानै हुनुपर्ने, पञ्चमाया दुवालले लिवाली आवास क्षेत्रको सबै सडकमा कालोपत्रे गर्नुपर्ने, शिवप्रसाद बालाले खानेपानी आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने र नयाँ पुल बनाउँदा पुराना पुललाई सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने, कृष्णगोपाल चौगुठीले वडा नं. ३ स्थित तेखापुखु फल्चा पुनःनिर्माणका लागि बजेट छुट्याउनुपर्ने र ज्ञानकुमार मगजुले नगरका वडाहरुको आकारअनुरुप बजेट विनियोजन हुनुपर्ने, वडा नंं. १० स्थित दिपंकर मन्दिर परिसरमा ढुंगा छपाईंको लागि बजेट व्यवस्था गर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।