कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी

श्रेष्ठ र बिसीले लिए शपथ
भक्तपुर, जेठ २३
नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले कांग्रेसबाट थपिएका दुई मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएसँगै कांग्रेस सरकारमा औपचारिकरुपमा सहभागी भएको हो ।
कांग्रेसबाट सरकारमा सहभागी दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । क्षेत्री सुर्खेत र श्रेष्ठ जुम्लाका सांसद हुन ।
मुख्यमन्त्री शाहीले प्रदेशसभामा राख्नुभएको विश्वासको मतको पक्षमा मतदान गर्नेक्रममा कांग्रेस सरकारमा जाने सहमति भएको थियो । वि. सं. २०७४ को निर्वाचन पछि सरकारमा गएको कांग्रेस यो पहिलो अवसर हो ।
कांग्रेसले सरकारमा सहभागी हुनुअघि आचार संहिता निर्माण गरेको छ । श्रेष्ठ र बिसी दुवैले आचार संहिताको पूर्ण पालना गर्ने शर्तमा हस्ताक्षर गरेपछि मात्र उहाँहरुलाई सरकारमा पठाउने निर्णय कांग्रेस संसदिय दलले गरेको हो ।
आचार संहितामा आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययितता, शादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख छ । त्यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइनेसमेत कांग्रेसले जनाएको छ ।