प्रकोप व्यवस्थापन कोषमा थप १८ लाख ४२ हजार जम्मा

भक्तपुर, जेठ २३
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम आइतबार पनि जारी रहेको छ ।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा आइतवार थप १८ लाख ४२ हजार ६ सय ८६ रुपैयाँ जम्मा भएको छ । यो सँगै गत जेठ ५ गते यता उक्त कोषमा ४ करोड ७८ लाख ८७ हजार ७ सय २८ रुपैंया बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालन गरी निःशुल्क सेवा प्रदान गरिरहेको छ । सो को लागि नगरपालिकाले प्रकोप कोषमा सहयोग गर्न आव्हान गरेको हो ।