महाधिवेशन बारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

भक्तपुर, असार १२
पार्टीको १४ औं महाधिवेशनको चटारोमा रहेको नेपाली कांग्रेसका केन्द्रीय समितिका पदाधिकारीहरुको बैठक आज (आइतवार) बस्ने भएको छ । महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको टुङ्गो लगाउने कार्य भइरहेको छ । केही जिल्लाबाट अझै क्रियाशिल सदस्यहरुको विवरण केन्द्रमा आईपुगेको छैन । आएका क्रियाशिल सदस्यता छानविनको काम भइरहेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
कांग्रेसले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति गठन गरेर सदस्यता छानविन गरिरहेको छ । समितिले मापदण्ड बनाएर छानविन गर्ने बताएपनि छिटो टुङ्गो लगाउन पदाधिकारीसहितको बैठक बस्न लागेको कांग्रेस स्रोतले जानकारी दिए ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिनुभयो । मापदण्ड निर्माणमा सहमति हुन नसक्दा समितिले नयाँ सदस्यहरुका बारेमा परेको उजुरीमाथि छानविन गर्न नसकेको कांग्रेस स्रोतले बताए । समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ ।
कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । स्थानीय तहको वडा तहको अधिवेशन भने साउन १२ गते हुने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ ।
यसैबीच नेपाली कांग्रेस थप ६ जिल्लाका ९ निर्वाचन क्षेत्रका क्रियाशिल सदस्यको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा–१, काभ्रे–१ र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ का पुरना नविकरण र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरुको विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।