मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने समूह पक्राउ

भक्तपुर, असार १३
मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संलग्न चार जना र खरिद गर्ने दुई जना सहित ६ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षिय सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका–२ दत्तात्रय घर भई हाल लिवाली बस्ने १९ वर्षिय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका–२ घर भई हाल सुर्यविनायक नगरपालिका–६, सुन्दरबस्ती बस्ने २९ वर्षिय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका–८ लिवालीका २० वर्षिय साईन भन्ने रमेश कोजु रहेका छन ।
त्यसैगरी चोरीको स्कुटर खरिद गरेको आरोपमा सुर्यविनायक नगरपालिका–१० पलाँसे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ का २३ वर्षिय अविनाश तामाङ र दाङ लमहीका २२ वर्षिय आकाश मगर पक्राउ परेका छन ।
भक्तपुरको कमलविनायकमा डेरा गरी बस्ने लक्ष्मणबहादुर बि. क.को डेराबाट गत जेठ ३१ गते हराएको भे ७ प ४४१३ नं. को मोटरसाइकल खोजी गर्नेक्रममा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा लिवालीबाट तामाङसहित चार जनालाई पक्राउ गरिएको हो ।
अनुसन्धानको क्रममा तामाङको समूहले किर्तिपुर नगरपालिका–१५ बस्ने रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी अविनाश र आकाशलाई बेचेको खुल्न आएपछि उनीहरु दुवै जनालाई पनि नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।