युरोकप २०२० – अष्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, असार १३
इटाली अष्ट्रियालाई पराजित गर्दै युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा शनिवार राती सम्पन्न खेलमा इटाली अष्ट्रियाविरुद्ध संघर्षपूर्ण २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल अतिरिक्त समयमा सम्भव भएको थियो । इटालीलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेडेरिको किएजाले दुवै गोल गरे ।


अतिरिक्त समयको ९५ औं मिनेटमा फेडेरिको किएजाले इटालीलाई अग्रता दिलाए । किएजाले स्पिनाजोलाको चिप पासमा ६ यार्ड बक्स क्षेत्रभित्र राम्रो बल नियन्त्रण गर्दै तेस्रो टचमा गोल गर्दै इटालीलाई अघि बढाए । किएजाले नै खेलको १०४ औं मिनेटमा दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारेका थिए । तर त्यस बचाउपछि आएको कर्नरबाट बनेको मुभमा किउजाले गा्ल गर्दै इटालीलाई जितको नजिक पुर्याएका थिए ।
खेलको ११५ औं मिनेटमा अष्ट्रियाले गोल फर्काउँदैं खेलमा फर्कने संकेत गरे । स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासा कालाज्डिचले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्किने आशा जगाए । उनले कर्नरमा आएको बललाई निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरेका थिए ।


सासाको गोलसँगै लगातार ११ खेलमा गोल नखाएको इटालीको किर्तिमान भंग भएको छ । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र खेल इटालीले २–१ ले जित्यो । खेलको शुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएको थियो । खेलको दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । इटालीका फरवार्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा अष्ट्रियाको रक्षात्मक रणनीति सफल भएको थियो । पहिलो हाफमा अष्ट्रियाले निकै कम गोलको अवसर पाएको थियो ।
इटालीले अब क्वाटरफाइनलमा आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।