सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

भक्तपुर, असार ११
आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९ का सो बजेट सार्वजनिक गरेको हो ।
उपप्रमुख बस्नेतले कुल बजेटको पूँजीगत कार्यक्रमतर्फ ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै चालुखर्चतर्फ ५१ करोड २२ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
चालुतर्फ शाखागत कार्यक्रमका लागि १८ करोड ८६ लाख ७६ हजार, सामाजिक सुरक्षामा १४ करोड, वडागत चालू कार्यक्रमका लागि २ करोड १५ लाख र नगरपालिका चालु खर्च १६ करोड २० लाख ८२ हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ ।


बजेटको खर्च व्यहोर्ने स्रोत मध्ये नगरपालिकाको आन्तरिक राजस्व परिचालनबाट .१८ करोड १८ लाख ९५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट २२ करोड ५६ लाख ८२ हजार, संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान २३ करोड ४० लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै संघ तथा प्रदेशको राजस्व बाँडफाँड १३ करोड ४ लाख ४८ हजार, सशर्त अनुदानबाट ३२ करोड ४१ लाख ९५ हजार, जिसस समपूरक कोषबाट २ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १४ करोड, प्रदेश समपुरक योजनाबाट तीन करोड र सडक बोर्ड तथा सशर्तका विविध कार्यक्रमबाट तीन÷तीन करोड प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बस्नेतले बताउनुभयो । नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाको लागि ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणको लागि ६ करोड विनियोजन गरेको छ ।

वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाको लागि २ करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख, क्रमागत योजनाहरु सम्पन्न गर्न रु ९ करोड ८० लाख, अस्पताल पूर्वाधार निर्माण गर्न एक करोड बजेट विनियोजन गरेको छ । त्यसैगरी संघ प्रदेश र अन्य विकास साझेदारहरुसँग साझेदारी गर्न समपुरक कोषमा ८ करोड विनियोजन गरेको छ । पूर्वाधार विकासको आयोजनाहरुमा नगद लागत साझेदारीमा अन्तर्गत ६०–४० को आयोजनाका लागि ६ करोड बजेट विनियोजन गरेको छ । नगरवासीले स्वास्थ्य विमा गर्दा प्रति परिवार एक हजार रुपैंया अनुदान दिने व्यवस्था गरेको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।


बजेटमा कोभिड १९ ले पारेको प्रभाव र यसले आर्थिक क्षेत्रमा पारेको असरलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्ष राजश्व र करका दरमा कुनै परिवर्तन नगरी चालु वर्षकै दरलाई यथावत कायम गरिएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो । चालु वर्षको असार मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजश्व आगामी आर्थिक वर्षको पुस मसान्तसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ ।
कर छली र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अनुगमनलाई तिब्रता दिईने भएको छ । हाम्रो कर हाम्रै विकासको भर अभियान सञ्चालन गरी प्रचलित कानून अनुसार निर्धारण भएको बहाल कर र व्यवसाय दर्ता तथा व्यवसाय कर संकलनका लागि व्यवसाय दर्ता तथा नविकरणको लागि घुम्ति शिविर, बहाल आय स्वघोषणा अभियान र कर सप्ताह सम्बन्धी अभियानमूलक कार्यक्रम सञ्चालन गरी सबै प्रकारका व्यवसायलाई नगरपालिकाको दायराभित्र ल्याईने बजेटमा उल्लेख छ ।
बजेट कार्यान्वयनलाई तिव्रता दिन आवश्यक पर्ने नीति, नियम, कार्यविधि निर्देशिका, मापदण्ड र शाखागत कार्यक्रम कार्यान्वयन कार्ययोजनाको मस्यौदा सम्बन्धीत शाखाले आर्थिक वर्ष शुरु भएको पहिलो महिनाभित्र तयार गरी त्यसलाई कार्यपालिकाबाट स्विकृत गरी गराई कार्यान्वयनमा लैजाने व्यवस्था मिलाईएको उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।