चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

भक्तपुर, असार ११
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट सार्वजनिक गर्नुभएको हो ।
बजेटमा पूँजीगतमा खर्चतर्फ एक अर्ब २४ करोड २ लाख ७४ हजार रूपैयाँ अर्थात ६५ दशमलव ५ प्रतिशत र चालु खर्चतर्फ ६६ करोड ६२ लाख ९ हजार रूपैयाँ अर्थात ३४ दशमलब शून्य ५ प्रतिशत रकम विनियोजन गरिएको छ ।
उपप्रमुख बास्तोलाले आन्तरिक आयतर्फ २८ करोड ८४ लाख ५ हजार रुपैयाँ संकलन हुने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण, सिफारिश, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट सो रकम संकलन हुने अनुमान गर्नुभएको हो ।
यस्तै बजेटमा वित्तीय समानीकरण अनुदान तर्फ संघीय सरकारबाट १७ करोड ४५ लाख र सशर्तबाट तेतिस करोड तीन लाख प्राप्त हुने जनाएको छ । राजश्व बाँडफाडबाट ८ करोड ९३ लाख ५३ हजार हजार र सबारी साधनको राजश्व बाँडफाडबाट छ करोड २ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ । जग्गा रजिष्ट्रेसनबाट ३२ करोड प्राप्त हुने वजेट बक्तव्यमा उल्लेख छ ।
बागमती प्रदेश सरकारबाट एक करोड ५२ लाख १७ हजार, सशर्तमा दुई करोड ४१ लाख ५५ हजार, समपुरकमा २ करोड १९ लाख ८७ हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।


पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा नगरपालिकालाई चार करोड ५५ लाख र जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ६ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
विशेष र समपुरक अनुदान तर्फ संघीय सरकारबाट दुई करोड ४५ लाख प्राप्त भएको र समपुरक योजनामा एक करोड ३९ लाख प्राप्त हुने बताईएको छ । त्यस्तै गत वर्षको बैंक मौज्दातबाट प्राप्त हुने रकम समेत बजेटमा आयतर्फ समावेश गरिएको छ ।
नगरपालिकाले आगामी वर्ष सम्पन्न गर्नेगरी चाँगुनारायण नगरपालिकाको भवन निर्माण लागि रु १२ करोड, सडक तथा पुल निर्माणलाई ५५ करोड ३६ लाख ६५ हजार ७६ रुपैयाँको विनियोजन गरेको छ ।
नगरका बेरोजगार युवालाई रोजगार बनाउन मेयर उद्यमशिलता विकास कार्यक्रमलाई ३ करोड, नगरभित्रका मुख्यमुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्दै उज्यालो चाँगुनारायण कार्यक्रमलाई ६५ लाख, सडक निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधार सहित ८० करोड ८४ लाख ५६ हजार २९४ रुपैयाको बजेट विनियोजन गरेको छ ।
उप–प्रमुख महिला लक्षित कार्यक्रममा १५ प्रकारका तालिम सञ्चालन गर्न ५० लाख, लैङ्गिक समानता तथा नेतृत्व विकास, आदिवासी जनजाति लक्षित दलित लक्षित अपाङ्ग लक्षित विभिन्न किसिमका सीप विकास सहितका बजेट सहितको कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित मिलन चौतारी निर्माण तथा अवलोकन भ्रमणका ४१ लाख, बजेट विनियोजन गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिनुभयो ।
एक घर, एक धारा खानेपानीका लागि १३ करोड ९३ लाख ८१ हजार ८४६, सामुदायिक विद्यालयमा छात्रा शिक्षा, बालविवाह निरुत्साहन र बचत खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रमलाई ५५ लाख र प्राविधिक शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धिसमेत शिक्षामा ३ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
नगरपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत तथा घोषणा कार्यान्वयनका लागि रु ९८ लाख ३० हजार, नपाको प्रत्येक घरको मेट्रिक सिस्टम हाउस नम्बरिङ तथा समुदायमा सुचना प्रबिधि र १० स्थानमा फ्री वाईफाईको व्यवस्था गरिएको छ ।
नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकलाई शत प्रतिशत भत्ता बृद्धि गरिएको, सार्वजनिक सहकारी साझेदारीमा उद्यम विकासका लागि ६० लाख, ‘हाम्रो चाँगुनारायण, सफा चाँगुनारायण प्रबद्र्धन’ बनाउनकालागि वन तथा वातावरणमा एक करोड १६ लाख, सामुदायिक वनलाई आय आर्जनमा जोड्न २० लाख, पुर्ण सरसफाई उन्मुख नगरपालिका कार्यक्रमलाई ९० लाख बजेट विनियोजन गरेको उपप्रमुख बास्तोलाले बताउनुभयो ।
कृषिमा आधारित रोजगार बृद्धिका लागि एक करोड ४४ लाख ८४ हजार, ४ वटा वडामा कोल्ड चेम्बर्स निर्माण गर्न ६० लाख, पशुको नश्ल सुधारमा ९६ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
कोभिड–१९ बाट बच्नका निःशुल्क पिसिआर परीक्षण, संक्रमितलाई सहयोग, क्वारेन्टिनको व्यवस्थापन गर्न कोभिड नियन्त्रण कोषलाई ५० लाख, प्राकृतिक विपत्ती, विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा एक करोड ८५ लाखको बजेट विनियोन गरिएको छ । नगरवासीको गुणस्तरीय एवं पर्याप्त औषधि सहितको न्यूनतम् स्वास्थ्य सेवा उपलब्ध गराउन, विपन्न परिवारलाई नगरपालिकाको साझेदारीमा स्वास्थ्य बिमाको लागि एक करोड बजेट विनियोजन गरिएको छ ।
कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप नगरपालिका अन्तगर्त रहेका सबै कर्मचारीहरुको संघीय सरकार तथा वागमती प्रदेशले घोषणा गरेको भन्दा मासिक तलबमा २ हजारले बृद्धि गरिने, मूल्याङ्नको आधारमा थप प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । संघीय सरकार, वागमती प्रदेश तथा जिल्ला समन्वय समिति तथा अन्य साझेदारबाट सञ्चालन हुने योजनाका लागि समपुरक कोषमा ७ करोड विनियोजन गरेको छ ।
उपप्रमुख बास्तोलाले चाँगुनारायणको विकास प्रक्रियामा नेपाल सरकार, बागमती प्रदेश, निजी क्षेत्र, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरुले निरन्तररुपमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।