जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक

भक्तपुर, असार ११
भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । भक्तपुर नगरपालिका–९, कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बिहीबार आफ्नो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका–७, सुडालस्थित ठूली ब्रम्हायणी आधारभूत विद्यालय सुडालका विपन्न विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी मनाउनुभएको हो ।
कोजूले विद्यालयका नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत ४५ जना विद्यार्थीलाई एक÷एक सेट पाठ्यपुस्तक प्रदान गर्नुभएको हो । विपन्न वर्गका बालबालिकाको पढन पाउने अधिकारबाट वञ्चित नहोस् भनेर जन्मदिनको अवसर पारेर पुस्तक प्रदान गरेको कोजूले बताउनुभयो ।
सो अवसरमा रोम्वस नेशनल स्कुलका निर्देशक सरिता कोजूले स्कुलले कमाएको केही रकम सामाजिक उतरदायित्वमा खर्च गर्ने क्रममा स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी सहयोग गरेको बताउनुभयो । उहाँले करिव ५३ हजार बराबरको रकमबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गरेको जानकारी दिनुभयो ।
ठूली ब्रम्हायणी आधारभूत विद्यालयका प्रिन्सिपल हरि राउतले प्राप्त पाठ्यपुस्तकले विपन्न वर्गका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विद्यालयमा निम्न वर्गिय र विपन्न वर्गका विद्यार्थी बढी अध्ययनरत रहेको बताउनुभयो ।
कार्यक्रममा पुस्तकका दाता डा. कोजूले आगामी दिनमा स्कुलसँंग शैक्षिक सहकार्य गरी सहयोग गर्दै जाने प्रतिवद्धता जनाउँदैं त्यसका लागि स्कुलका शिक्षकको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने बताउनुभयो ।
दाता डा. कोजूले यसअघि अघिल्लो वर्ष पनि कृष्ण प्राविलाई यसरी नै पुुस्तक सहयोग गर्नुभएको थियो । पव्लिक प्राइभेट पार्टनरशिपको अवधारणा अनुसार आफ्नो निजी स्कुलले सरकारी स्कुललाई सहयोग गर्दै आएको र आगामी पनि दिनमा पनि त्यसलाई निरन्तरता दिने योजना रहेको डा. कोजूले बताउनुभयो ।