युरोकप २०२० – नकआउट चरणमा डेनमार्क र वेल्स तथा इटाली र अष्ट्रिया भिड्दै

भक्तपुर, असार १२
युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप २०२० फुटबलको प्रिक्वाटरफाइनल अर्थात नकआउट चरणका खेलहरु आज (शनिबार)बाट सुरु हुँदैछ ।
नकआउट चरणको पहिलो खेलमा शनिवार डेनमार्क र वेल्सबीच हुँदैंछ । आम्र्सटरडमको जोहान क्रुफ एरिनामा हुने यो खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ । डेनमार्क समूह बी को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो भने वेल्स समूह ए को उपविजेता रुपमा प्रिक्वाटरफाइनल प्रवेश गरेको हो ।
समूह चरणमा डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा बेल्जियमसँग २–१ ले पराजित भएको डेनमार्क अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित ३ अंकका साथ समूह उपविजेता बनेको थियो ।
त्यस्तै वेल्सले समूह ‘ए’ मा ३ खेलमा ४ अंक जोड्दै उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा इटालीसँग १–० ले पराजित भएको थियो ।
डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।


त्यस्तै शनिवार हुने दोस्रो खेलमा इटालीले अष्ट्रियाको सामना गर्दैछ । इंग्ल्यान्डको लन्डनस्थित वेम्बली स्टेडियममा हुने सो खेल राती १२ः४५ बजे सुरु हुनेछ । इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले समूह चरणमा टर्कीलाई ३–०, स्विट्जरल्यान्डलाई ३–० र ३ वेल्सलाई १–० ले पराजित गर्दै ३ खेलमा ९ अंक जोडेको थियो ।
त्यस्तै अष्ट्रिया समूह चरण ३ खेलबाट ६ अंक बटुल्दै समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ र तेस्रो खेलमा युक्रेनलाई १–० पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएकोमा १० मा इटाली विजयी भएको छ भने ३ खेल बराबरीमा टुंगिएको छ ।