युरोकपमा इटालीको विजयी शुरुवात– टर्की ३–० ले पराजित

भक्तपुर, जेठ २९
युरोपेली महादेशीय युरो कप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । इटालीको रोमस्थित ओलम्पियन स्टेडियममा गएराती सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
इटालीको जितमा चिरो इम्मोबिले, लोरेन्जो इन्सिग्नेले गोल गरे भने एक गोल आत्मघाती गोलको रुपमा उपहार पाए । इटालीले आक्रमक खेल पस्केपनि टर्कीको रक्षापंक्तिले इटालीलाई पहिलो हापमा अघि बढ्न दिएन । बल पोसेसनमा पकड जमाउँदै आक्रमण बढाएपनि इटालीले अग्रता बनाउन आत्मघाती गोलको सहायत लिनुप¥यो । खेलको ५३ औं मिनेटमा डोमेनिको बेरार्डीको क्रसलाई क्लियर गर्न नसक्दा टर्कीका मेरिह डेमिराललाई लाग्दै गोल भएको थियो ।


इटालीले ६६ औं मिनेटमा अग्रता दोब्बर बनाए । इटालीका लागि लिओनार्डो स्पिनाज्जोलाको प्रहार गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डमा गोल गर्दै चिरो इम्मोबिलेले इटालीको अग्रता दोब्बर पारेका थिए । त्यस्तै ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले अघि बढाए र जित पक्का गरे । उनले इम्मोबिलेको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै गोल गरेका थिए ।
यो सँगै इटालीले लगातार ९ खेलमा गोल नखाई जित हासिल गरेको छ । समग्रमा इटालीले आफ्नो अपराजित यात्रालाई २८ खेल पु¥याएको छ । इटालीले युरो कपको इतिहासमा एकै खेलमा तीन गोल गरेको यो नै पहिलो अवसर समेत हो । यस जितसँगै इटालीले समूह ए मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत शनिबार वेल्स र स्विटजरल्यान्डले खेल्नेछन् । उक्त खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।